धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथ मन्दिर । विश्वभरिका हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर । 

एउटा आध्यात्मिक केन्द्रबिन्दु । 

पशुपतिनाथ मन्दिर, मन्दिर मात्र नभएर आफैंमा एउटा भव्य संसार हो । हरेक थरीका मान्छेहरु भेला हुने एउटा ‘रिलिजीयस हब’ । 

यहाँ कोही जन्मोत्सव मनाइरहेका हुन्छन्, कोही जीवनमरणको दोसाँधमा, कोही नयाँ वाचावन्धन बाँडिरहेका, कोही चिताको धुँवासँगै हावामा समाहित भइरहेका । जटाधारी, भस्मे बाबादेखि बेसहारा बालबालिका, उदयमान गुण्डा, वृद्धवृद्धा सबैको साझा घर हो पशुपतिनाथ ।

शब्दमा बयान गर्नै नसकिने अनगिन्ती विशेषता बोकेको पशुपतिनाथमा हरेक साँझ निक्कै चहलपहल देखिन्छ । कारण, साँझको आरती । 

आरती विशेष छ । सुन्दर छ । हेरुँहेरुँ लाग्ने, नाँचुनाँचु लाग्ने । जीवनलाई थोरधेर महसुस गर्न कर लाग्ने किसिमको । 

हरेक साँझ हुने विशेष आरती अवलोकन गर्न विभिन्न ठाउँबाट भ्याएसम्म समय छुट्याउँछन् मान्छेहरु । भेला हुने स्थान उही पशुपतिनाथको प्राङ्गण भएतापनि उद्देश्य अनेकन । 

यति बेला ठीक साढे ६ बज्यो । 

साँझ पशुपतिको आरती हेर्न बिस्तारै हुल हुल मानिसहरु प्रवेश गर्दैछन् । स्थान ठ्याक्कै मन्दिरको पारी पट्टि । सलल बग्दै गरेको बाग्मतीको किनारमा । 

आकाश धुम्मिएकै छ । मानिसहरुलाई कुनै पर्वाह छैन । 

दिनभरीको संसारिक चस्मा उतारेर केही क्षण भएपनि आरतीको रमणीय दृश्यलाई आँखामा कैद गर्न आतुर देखिन्छन् उनीहरुका आँखा । 

आरती शुरु हुनु एक घण्टा अघिदेखि नै मान्छेहरुको चहलपहल बाक्लो देखिन्छ । सबैले आफ्नो लागि ठाउँ ‘रिजर्भ’ गर्न भ्याइसकेका । नयाँहरु खुड्किलामै अडेसा लाएर नियाल्न रेडी छन् ।

ब्याकग्राउन्डमा एक भजन मण्डली सुमधुर आवाजमा भजन गाउन शुरु गर्छन् । त्यही सुरमा सुर मिलाउँछन् भक्तजन । 

केही महिलाहरु भजनको तालमा नाँचिरहेका । यता तीनजना महिलाले पालैपालो गरी पूजाका सामाग्री ओसार्दै गर्दा उता घामले आकाशलाई आंशिक रुपमा डढाइसकेको थियो । 

अब भने थामिनसक्नु भीड बढ्यो । 

दियो र बत्तीको उज्यालोमा झन् धपक्कै बल्यो पशुपति । जाज्वल्यमान । 

अगरबत्ती र कपूरको वास्ना मस्तिष्कलाई नै स्पर्श गर्न लम्किरहे जस्तो आभास हुन्थ्यो । पूजाका सामाग्री तयार भइसकेपछि तीन ब्राह्मण लस्करै लागेर आए । आ–आफ्नो आसनमा बसेर केही समय पूजाको विधि पूरा गरे ।

अनि शुरु भयो आरती । 

सबैले एकटक लागेर नियालिरहे । कोही आफ्नै आँखाले । कोही आफ्नो क्यामेराको । कोही भने आँखा चिम्लिएर केही महसुस गरिरहेका थिए । धेरैले भन्ने गर्छन् ‘यस्तो गर्दा आफूसँग आफ्नै भेट भएजस्तो लाग्छ ।’

आरती भइरहेको समय लाग्छ त्यहाँको हावाका प्रत्येक कणदेखि आकाशमा सलबलाइरहेका बादलका चोइटाहरुसमेत मन्त्रमुग्ध भएर नियालिरहेका छन् त्यो अलौकिक दृश्य ।

मन्त्रमुग्ध । शान्त । स्निग्ध । 

त्यही मनोरम दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न उद्दत छन् केही युवा टोली । उनीहरुलाई लाग्दो हो भोलिको संसारिक भ्रमले यो मनोहर सत्य र यथार्थ बिथोल्छ । 

चारै दिशा घुमेर, विभिन्न मुद्रामा आरती गरिसकेपछि अन्तिममा शंखनाद मार्फत् आरती टुङ्ग्याइयो ।

ब्याकग्राउन्डको भजन एकाएक मधुर संगीतमा परिणत भयो । सबैजना क्रमश आफ्नो गन्तव्यतर्फ लागे । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?