एजेन्सी: साउदी गठबन्धनले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा २९ जना बालबालिका मारिएको र ३० घाइते भएको अन्तर्राष्ट्रि संस्था रेडक्रसले जनाएको छ ।
साडा प्रान्तको दहिन बजारमा बालबालिकाहरू बसमा यात्रा गरिरहेका थिए । त्यसबेला गरिएको हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।
हउथिस विद्रोहीहरूद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मर्नेहरूको संख्या ४३ र घाइते हुनेको संख्या ६१ भएको जनाएको छ ।
साउदी गठबन्धनले यमन सरकारलाई समर्थन गरिरहेको छ । हउथिससँगको युद्धमा सरकारलाई समर्थन गर्ने साउदी गठबन्धनले यो युद्ध जायज भएको ठहर गरेको छ ।
साउदी गठबन्धनले युद्धमा मानवअधिकारको उल्लंघन नगरेको दाबी गरिरहेको भएपनि बजार, विद्यालय, अस्पताल र आवसीय क्षेत्रमा बम प्रहार गरिएको मानवअधिकारकर्मीहरूले आरोप लगाएका छन् ।
यसैबीच यमनका लागि संयुक्त राष्ट्रसंघका नयाँ विशेष दूत पूर्व बेलायती कुटनीतिज्ञ मार्टिन गिफ्थ्सले जेनेभामा युद्धरत दुबै पक्षलाई छलफलका लागि बोलाउन योजना बनाइरहेका छन् ।
यो युद्ध लामो चलेमा अवस्था धेरै जटिल बन्दै जाने बताउँदै उनले पक्षहरूको ध्रुवीकरण हुनु भन्दा अघि नै यसको समाधान खोज्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया