दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड आमने-सामने हुँदै

काठमाडौं । आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’को तयारी स्वरुप थाइल्याण्डमा रहेको नेपाली यू-२३ टोलीले दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । 

बैंककको थाम्मासत युनिभर्सिटीको मैदानमा आज दिउँदो नेपाली युवा टोलीले थाइल्याण्डको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । यि दुई टिमबीचको खेल नेपाली समयअनुसार आज दिउँसो साढेँ चार बजेपछि शुरु हुँदैछ ।

 पहिलो मैत्रीपूर्ण खेलमा हार बेहोरेको नेपाली टोली आजको खेलमा जित हात पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।

गत मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिम थाइल्याण्डको टेरो पुलिस क्लबसँग १-० गोलले पराजित भएको थियो । त्यतिबेला नेपालका लागि सुमन अर्यालले आत्मघाती गोल गरेका थिए । 

यही साउन २९ देखि हुने ‘एशियाड’ लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह 'डी' मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ । 

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । 

त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् ।

मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?