मैत्रीपूर्ण खेलमा नेपालको लगातार दोस्रो पराजय

काठमाडौं । आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’को तयारी स्वरुप थाइल्याण्डमा रहेको नेपाली यू-२३ टोली दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भएको छ । 

बैंककको थाम्मासत युनिभर्सिटीको मैदानमा शुक्रवार भएको खेलमा नेपाली युवा टोली थाइल्याण्डको यू-२३ टिमसँग ४—० गोल अन्तरले पराजित भएको हो । खेलको २७ औं मिनेटमा थाइल्याण्डका लागि सुपचाई चाइडेटले कर्नरबाट आएको बललाई सदुपयोग गदै गोलपोष्टको जाली चुमाएका थिए ।

उनले हेडमार्फ गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म नेपाली टिम १-० गोल अन्तरले पछाडी परेको थियो । पहिलो हाफमा एक गोल गरेको थाइल्याण्डको यू-२३ बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो । 

निर्धारित समयसम्म नेपालले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेलमा हार बेहोरेको छ । 

यसअघि गत मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाली टिम थाइल्याण्डको टेरो पुलिस क्लबसँग १-० गोलले पराजित भएको थियो । 

यही साउन २९ देखि हुने ‘एशियाड’ लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह ’डी’ मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?