एन्फाले सार्वजनिक गर्‍यो प्रगति विवरण, राजुकाजी शाक्यलाई प्रशिक्षकबाट बर्खास्त नगरिएको स्पष्टोक्ति

काठमाडौं । अखिल नेपाल फुटल संघ ‘एन्फा’को निर्वाचित नयाँ कार्यसमितिले तीन महिनासम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । 

सातदोबाटोस्थित ‘एन्फा’ कम्प्लेक्समा शुक्रवार औपचारिक रुपमा पत्रकार सम्मेलन गर्दै निर्वाचित भएको ३ महिनापछि ‘एन्फा’ले गरेको प्रगति विवरण तथा आगामी दिनमा गर्नेे कार्य सार्वजनिक गरेको हो । 

‘राजुकाजी शाक्यलाई बर्खास्त गरेका होइनौँ । बीचमा गतिविधि नभएको बेला हामीले बालगोलपाल महर्जनलाई जिम्मा दिएका हौँ । तर, एन्फाले राजुकाजीलाई हटाएको होइन ।’

गत वैशाख २२ गते कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति आएसँगै ‘एन्फा’ले ‘ए डिभिजन’ लिग फुटबलको मिति तोक्नुका साथै साउन ३० गते विशेष साधरणसभा गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, वैशाख २४ गते ‘एन्फा’ को पहिलो बैठकले विगत चार वर्ष देखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग लगायत विभिन्न विषयमा छलफल गरेको थियो । 

‘एन्फा’को यसअघिको बैठकले ‘ए डिभिजन लिग’ असोज १३ गतेबाट सञ्चालन गर्ने निर्णय गरिसकेको छ । लिगका लागि भनेर विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी समेत गठन गर्दै काम अगाडी बढाइरहेको छ । तर, पहिलो पटक रेलिगेसन बिनाको लिग हुने एन्फाले जानकारी दिएको थियो । 

यता एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले तीन महिनाको अवधिमा धेरै उपलब्धि मुलुक काम भएको बताए । 

‘हामीले निर्वाचित नयाँ कार्य समितिले तीन महिनाको अवधिमा निकै उपलब्धि मुलुक कार्यहरु गरिसकेका छौं । हामीले राष्ट्रिय स्तरमा ललित स्मृति यू—१६ च्याम्पियनसिप, एन्फा कप इन्टर स्कुल फुटबल, उपराष्ट्रपति महिला लिग र उपराष्ट्रपति महिला राष्ट्रिय लिगको साथै राष्ट्रिय रेफ्री कोर्स सफलतापूर्वक सम्पन्न गरिसकेका छौं ।’ उनले लोकपथलाई भने । 

साथै, प्रवक्ता राईले अर्को साता चितवनमा विशेष साधारण सभा गर्ने तयारी गरिरहेको र विधानमा केही परिमार्जन गरिने समेत बताए  । 

‘नेपालमा ए डिभिजन लिग शुरु गर्न नसकेको अवस्थामा अहिले पुनः सञ्चालन गर्ने तयारीमा सबै एन्फा पदाधिकारीहरु लागि परिरहेका छन् । चार वर्षको अन्तरालपछि शुरु गर्न लागेको लिगप्रति हामी सबैजना सकरात्मक हुन जरुरी छ ।

गत वैशाख २२ गते कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति आएसँगै ‘एन्फा’ले ‘ए डिभिजन’ लिग फुटबलको मिति तोक्नुका साथै साउन ३० गते विशेष साधरणसभा गर्ने निर्णय गरिसकेको छ ।

यसपालि रेलिगेसन नभए पनि लिगलाई कसरी व्यवस्थित बनाएर लैजाने भन्ने विषय हाम्रो लागि निक्कै चुनौतीपूर्ण छ । उनले थपे । 

नयाँ कार्यसमिति आए पश्चात नेपालले ९ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । पुरुष राष्ट्रिय टोली अहिले ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीका थाइल्याण्डमा प्रशिक्षणरत छ  ।  त्यस्तै, महिला यू—१५ महिला टोली ‘साफ’ च्याम्पियनसिपको लागि भुटान छ । 

प्रवक्ता राईले आगामी असोज ३ देखि ७ सम्म एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी, असोज ४ देखि १४ सम्म भारतको आग्रामा हुने ४६ औँ एसियन स्कुल फुटबल प्रतियोगितामा नेपालको यू-१८ ले खेल्ने कार्यतालिका रहेको छ । भुटानमा हुने साफ यू-१८ मा पनि नेपालले सहभागिता जनाउँदैछ भने कार्तिक ८ गतेदेखि १४ सम्मसाफ यू-१५ ब्वाइज च्याम्पियनसिप आयोजना गर्ने पनि उनले बताए । 

नेपालले थाइल्याण्डमा असोज ३१ देखि कात्तिक ७ सम्म हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप पनि खेल्नेछ ।

त्यस्तै कात्तिक २२ देखि २७ सम्म हुने २०२० ओलम्पिक्स छनोट पनि नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्नेछ । 

पत्रकार सम्मेलनमा बोल्दै एन्फा प्रवक्ता राईले राजुकाजी शाक्यलाई राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्त गरिएको नभई उनको स्थानमा बालगोपाललाई राखेको प्रष्ट पारेका छन् ।

‘राजुकाजी शाक्यलाई बर्खास्त गरेका होइनौँ । बीचमा गतिविधि नभएको बेला हामीले बालगोलपाल महर्जनलाई जिम्मा दिएका हौँ । तर, एन्फाले राजुकाजीलाई हटाएको होइन ।’ उनले लोकपथलाई भने । 

राईले राजुकाजीलाई हिजै पत्र पठाएको र शुक्रवार छलफल समेत भइसकेको समेत बताए । 

यता, रसियामा भएको फिफा कंग्रेसमा प्रतिनिधको रुपमा भाग लिएका एन्फाको अन्तर्राष्ट्रिय सल्लाहकर नविन पाण्डे विदेशी नागरिक नभइ एनआरएन भएको राईले जानकारी दिए । 

‘एन्फाको पहिलो बैठकबाट उनलाई अन्तर्राष्ट्रिय सल्लाहाकार नियुक्त गरिएको हो । साथै, अध्यक्ष र महासिचव सहित उनलाई पनि फिफा कंग्रेसमा पठाउने निर्णय भएको हो । पाण्डे विदेशी नागरिक भन्दा पनि ‘एनआरएन’ हुन् ।’ राईले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?