काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (बिहिबार) पुन: १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसअघि अर्थात जेठ पाँच गते मात्र १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको राष्ट्र बैंकले बिहीबार पुन: बोलकबोलमार्फत दुई बर्षे अवधिको विकास ऋणपत्र २०८१ ‘च’ (दुई वर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्नेछ । निष्काशन मिति २०७९ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ जेठ १३ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेकोमा ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।
बिक्री गरिने कुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया