काठमाडौं । मुलुकको अर्थतन्त्र तीब्र रूपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो ।
कोभिड-१९ पछि नेपालीहरु डिजीटल प्रविधीका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको हो । कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ ।
कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्याएको । सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढि संकुचित भएको छ । तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ । कोभिड संकटकै बीचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ ।
डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाईल ब्रोडब्याण्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ, डिजिटल प्लेटफर्म र अन्य धेरै मार्फत आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ । कुनैपनि राष्ट्रको यो उद्योगमा प्रविधि,टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरु र इकमर्स र डिजिटल बैंकिङ जस्ता गतिविधिहरु समावेश हुन्छन् ।
कृषि, यातायात, स्वास्थ्य, पर्यटन, शिक्षा जस्ता धेरै परम्परागत व्यवसायहरुमा यी डिजिटल प्लेटफर्महरु र व्यापार मोडलहरुको एकीकरणको साथ उद्योगहरुले हालैका वर्षहरुमा सबै कुराको डिजिटलाइजेशनमा वृद्धि भएको देखिन्छ ।
कोभिड-१९ पछि नेपालीहरू पनि डिजीटल प्रविधीका अनेकौ आयाम जस्तै इकमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजीटाइजेशन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित हुँदै जान थालेको छ । अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डोर्याइरहेको छ । परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन् । कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गराएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ ।
घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल बालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवाहरुमा नेपालीहरु अभ्यस्त भइसकेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेशनमा रुपान्तरण हुँदै गएको छ । नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिसरप्सन भइरहेको छ ।
यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।
कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ ।
यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाईन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ । डिजीटल इकोनोमीका बारेमा आयोजन गरिएको कन्क्लेभको दोस्रो सस्करणले आम नेपालीका लागी विशिष्ठ महत्व राख्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया