नयाँ मुलुकी संहितामा चिकित्सकको आपत्ति : लाइसेन्स बुझाएर घर बस्ने चेतावनी !

काठमाडौं । नयाँ मुलुकी संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको खण्डमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । 

भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर घर बस्ने चेतावनीसमेत दिएका छन् । 

सरकारले पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल संघका महासचिव डा. लोचन कार्कीले सरकारको नयाँ मुलुकी व्यवस्था हेर्दा सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गरेको बताए । उनले भने, ‘यस्तो अवस्थामा काम गर्न सकिदैन् ।’

‘यसलाई परिमार्जन गर्नुस् भनेर हामी सरकारलाई अनुरोध गर्छौं । त्यसबाट पनि भएन भने त लाइसेन्स लगेर स्वास्थ्य मन्त्रालयमा बुझाएर घर बस्नेबाहेक अरु उपाय हामीसँग रहँदैन ।’ डा. कार्कीले भने ।

बिरामी जाँचेको सय र पचास रुपैयाँ लिएर जीवनभर जेल बस्ने जोखिम मोल्न कोही पनि चिकित्सकहरु तयार नभएको समेत कार्कीले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?