काठमाडौं । केही दिनदेखि सिनेवृत्तमा दुई नेपाली फिल्म जुध्न लागेको विषयले खुबै महत्त्व पाएको छ । भदौ २२ मा रिलिज हुन लागेका दुई चलचित्र ‘रोजी’ र ‘रामकहानी’बीच द्वन्द्व देखिएको छ । एकै मितिमा आउन लागेका यी दुई चलचित्रले अब खुलेरै प्रचार गर्नेवाला छन् ।
किनकि, दुवै चलचित्र निर्माताका दाबीअनुसार ‘राम्रा’ चलचित्र हुन् । यसअघि व्यावसायिक रुपमा सफल चलचित्र दिएका सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘रामकहानी’ भदौ २२ मा रिलिज हुने पहिले नै तय भएको थियो । यही मितिमा निरक पौडेलको फिल्म ‘रोजी’ पनि रिलिज हुने भयो ।
यी दुई फिल्मको भाले जुधाइलाई रमाइलोका साथ हेरिएको छ । किनकि, ‘रोजी’ मा प्रदीप खड्का छन् । जो पछिल्लो समयका युवास्टार पनि हुन् । यही समयमा पूजा शर्माको ‘रामकहानी’ पनि आउँदैछ ।
संयोग के छ भने पूजा शर्मा र प्रदीप खड्का यसअघि फिल्म ‘प्रेमगीत’ मा एकसाथ काम गरेका थिए । अहिले यी दुईबीच राम्रो सम्बन्ध नभएको बताइन्छ ।
अर्कातिर फिल्म ‘कुसुमे रुमाल २’ रिलिज हुँदा सुदर्शन थापाको फिल्म ‘मेरो एउटा साथी छ’ पनि रिलिज भएको थियो ।सुदर्शन थापा निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’ ले व्यापारिक रुपमा सफलता हात पारेको थियो भने निरक पौडेलको ‘कुसुमे रुमाल २’ खासै चलेको थिएन ।
यही कुरालाई लिएर दुवैबीच रिसइवी साँधेको हल्ला पनि छ । यस अर्थमा ‘रोजी’ सँग ‘रामकहानी’ जुध्दा फाइदा ‘रोजी’ टिमलाई फाइदा हुने देखिन्छ । किनकि, पूर्वसमीक्षा गर्दा रोजी चल्ने सम्भावना अलिक बढी छ । अर्कातिर प्रदीप खड्का अहिले बजारका हट केक बनेका छन् यतिबेला । त्यसो त पूजा शर्माका पनि आफ्नै फ्यान छन् । तर, तुलनात्मक रुपमा रोजी टिमलाई अझ बढी फाइदा हुने देखिन्छ ।
यति हुँदाहुँदै पनि एउटा कुरा चाहिँ के पक्का छ भने दर्शकले रोजेर ‘रामकहानी’ र ‘रोजी’ हेर्छन् । जुन फिल्म राम्रो छ, त्यही फिल्मलाई फाइदा छ । अर्को फिल्मले पक्का घाटा बेहोर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया