काठमाडौं । भलिबल, अहिले नेपालको राष्ट्रिय खेल ।
नेपाली भलिबल टोलीले ३२ वर्ष पछि पहिलो पटक इण्डोनेशियामा हुने १८ औं एशियाली खेलकुद ‘एशियाड’ सहभागिता जनाउँदैछ । त्यो पनि पुरुष टोलीले मात्र ।
सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न भएको १० औं सिओल ‘एशियाड’ पछि नेपालले यसपाली इण्डोनेशिया ‘एशियाड’ खेल्न लागेको हो । लामो अन्तरालपछि एशियाडमा फर्किएको नेपाली खेलाडीहरु अहिले अन्तिम तयारीमा व्यस्त छन् ।
साढे दुई महिनाको अभ्यास महेन्द्रनगरमा सकेर नेपाली टिमले हाल काठमाडौंमा अभ्यास गरिरहेको छ ।
राष्ट्रिय खेल भएपनि भलिबलका खेलाडीहरुले भर्खरै मात्रै विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिने मौका पाएका छन् । भलिबल खेलबाट खासै पदक नआउने र खर्च धेरै लाग्ने भन्दै सन् १९८६ ‘एशियाड’मा सहभागी गराइएन ।
फाइल तस्वीर : माल्दिभ्समा सम्पन्न भएको तेस्रो एभिसी सेन्ट्रल जोेन्स मेन्स भलिबल च्याम्पियनसिपमा सट प्रहार गर्दै नेपाली खेलाडी
सन् १९९८ को बैंकक ‘एशियाड’मा अन्तिम समयमा आएर भलिबल टोलीलाई नपठाउने निर्णय गरेको थियो । पुरुष राष्ट्रिय भलिबल टोली सम्हालिरहेका पूर्व खेलाडी तथा ‘हाल’ प्रशिक्षक जगदिश भट्टले त्यतिबेला सबै खेलाडीहरु निराश बनेको बताए ।
यता, राष्ट्रिय टिमका कप्तान इम रानामगरले ट्रेनिङ पश्चातपनि कुनै विदेशी टिमसँग मैत्रीपूर्ण खेल्न नपाउँदा दुःख लागेको बताए ।
‘हामीले तीन महिनाको कडा परिश्रम र प्रशिक्षणका बावजुत पनि कुनै अन्तर्राष्ट्रिय टिमहरुसँग मैत्रीपूर्ण खेल खेल्न नपाउनु प्रति सबै खेलाडी दुःखी छौं । प्रशिक्षणले मात्र मेडलको आशा गर्न सकिँदैन । मैत्रीपूर्ण खेलका क्रममा हाम्रो कमीकमजोरी थाहा पाउने हुँदा त्यसलाई प्रशिक्षणका दौरान सुधार गर्न सक्छौं ।’ उनले भने ।
त्यस्तै, अहिले नेपाली टोलीलाई नेदरल्याण्डस्का दुई प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।
टिमका मुख्य प्रशिक्षक लेस्ली डि जोङले नेपाली खेलाडीहरुसँग प्रतिभा हुँदा हुँदै पनि विदेशी टिमसँग मैत्रीपूर्ण खेल खेलाउन नसक्दा दुख लागेको बताए ।
‘हामीले कुनैपनि मैत्रीपूर्ण खेल खेल्न नसक्नु लाजमर्दो कुरा हो । खेलाडीहरुको कमीकमजोरीलाई सुधार्ने हो भने मैत्रीपूर्ण खेल खेल्न अतिआवश्यक छ । तर, हामीसँग प्रतिभावान र क्षमतावान खेलाडीहरु छन् । जसले गर्दा हामी एक आपसमा खेलेरै भएपनि ‘एशियाड’को लागि तयारी गरिरहेका छौं ।’ उनले लोकपथलाई भने ।
साथै, प्रशिक्षक लेस्लीले ‘एशियाड’मा नेपाल निकै कठिन समूहमा परेको समेत जानकारी दिए ।
‘हामी निकै कठिन समूहमा परेका छौं । नेपालसँग कुनै वरियता छैन । तर, यो ४५ दिनको विशेष प्रशिक्षणले खेलाडीहरु उत्साहित छन् । विपक्षी टिमको बारेमा पनि केही जानकारी पाएका छौं । सोही सूचनाका आधारमा हामीले बलियो तयारी गरेका छौं । हामीले ‘एशियाड’मा र्याङकिङमा भने पक्कै सुधार गर्नेछौं । हामी सबैले आशा गरौं नेपालले राम्रो खेल्नेछ’ उनले थपे ।
माल्दिभ्समा सम्पन्न भएको तेस्रो एभिसी सेन्ट्रल जोेन्स मेन्स भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्दै नेपालले ४३ वर्ष पछि उपाधि खडेरी तोडेको थियो । त्यसपछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रर्दशनका आधारमा यसपाली भलिबलले ‘एशियाड’ खेलकुदमा भाग लिने मौका पाएको हो ।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भए यता पहिलो पटक ‘एशियाड’ खेल्न लागेको हो । नेपाल रहेको समूहमा दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेको छ ।
नेपाल रहेको समूहमा दक्षिण कोरियालाई निकै बलियो टोलीको रुपमा लिइन्छ । यद्यपी चाइनिज ताइपेइलाई मात्र पराजित गरेपनि नेपालको र्याङकिङ सुध्रन सक्नेछ । नेपालसँग अहिलेसम्म कुनै वरियता छैन ।
निकै संघर्षपछि पाएको यो मौकालाई यसपालीको ‘एशियाड’मा सुखद नतिजा आउने लक्ष्य रहेको छ । म्याच एक्सपोजर बिना नै ‘एशियाड’ खेल्न लागेको नेपाली भलिबल टिमले मेडल ल्याउन सक्ला वा नसक्ला त्यो भने हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया