कागजपत्र मिलाएर ६० हजार बुझ्ने सचिवमाथि उजुरी

संखुवासभा–संखुवासभा जिल्लाका पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोके भन्दा दोबर भत्ता लिएको खुलेपछि अख्तियारमा उजुरी परेको छ ।
वडा सचिबलाई एक वडा कार्यालय हेरेबापत नगरपालिकाले २ हजारका दरले भत्ता दिने  निर्णय गरेको थियो ।  सचिब रामप्रसाद रेग्मीलाई नगरले १ र ३ नं. वडा पनि हेर्ने गरी कार्य क्षेत्र तोकेको थियो । 

तर, रेग्मीले नगरको निर्णय लत्याउदै आफुखुसी ५ हजारका दरले तीनवटा वडाबाट मासिक १५ हजार लिने गरेको खुलेको छ । उनले एक वडाबाट अर्को वडा जाँदा ,मिटिङमा जाँदा र ब्यक्तिगत काममा सदरमुकामसम्म जाँदाको समेत बैठक भत्ताका नाममा कागजपत्र मिलाएर महिनाको ६० हजार बढी रकम लिएको भेटिएको हो ।

अख्तियारमा उजुरी परेपछी रेग्मीलाई अख्तियारले सरकारी सम्पत्ति दुरुपयोग गरेको भन्दै  आवश्यक अनुसन्धानका लागि पत्र पठाएको छ । तर मेयर विपिन राईले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उपमेयर भिमादेवी राईले भने मंगलबार यसबारे नगरपालिकामा छलफल राखेको बताएकी छन् ।

सचिव रेग्मीले भने आफुमाथि लागेको आरोप झुटो भएको भन्दै त्यसको खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?