राजविराज : सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार गत आवमा ३७ ट्रक, ५३ बस, ५९ कार/जीप, २३ ट्याक्टर, पाँच टेम्पो र २४४ मोटरसाइकल दुर्घटना भएको थियो ।
सवारी साधनको अत्यधिक चाप, पूर्व–पश्चिम राजमार्ग साँघुरो हुनु, वैकल्पिक सडक नहुनु, तीव्र गतिमा सवारी साधन हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायत कारणले दुर्घटना अत्यधिक भएको श्रेष्ठले बताए । गत आवमा नियम उल्लङ्घन गरी सवारी साधन हाँक्ने ५३ हजार ६२४ चालकलाई कारबाही गरिएको थियो ।
कारबाहीबाट तीन करोड १४ लाख ५८ हजार रूपैयाँ राजश्व सङ्कलन भएको छ । आव २०७२/७३ मा २८३ सवारी साधन दुर्घटना हुँदा ५१ जना तथा आव २०७१/७२ मा १७८ सवारी साधन दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया