तस्वीर आफैं बोल्छ !

एउटा चित्रले हजार शब्द बोल्न सक्छ । कतिपय अवस्थामा शब्दले भन्न नसकेका भावहरुलाई समेत चित्रले सजिलै प्रस्तुत गरिदिन्छ । कन्क्रिट शब्दले भन्दा जीवन्त चित्रले मानव मस्तिष्कमाथि बढी प्रभाव पार्छ भनेर विज्ञानले पनि पुष्टि गरिसकेको छ । 

समयको विकाससँगै चित्र पनि परिमार्जित हुँदै गएको पाइन्छ । त्यसै अन्तर्गत केही समयदेखि वाल पेन्टिङको अवधारणा विकास भएको छ । वाल पेन्टिङ अर्थात् भित्तालाई क्यानभासका रुपमा प्रयोग गरेर बनाइने आकर्षक चित्र ।

आदिम कालमा कपडामा रंग भरेर कोरिन शुरु गरिएको चित्रकला आजकल शहरका भवन र सार्वजनिक स्थलका भित्ताहरुमा झलमल्ल मुस्कुराइरहेको देखिन्छन् । 

हुन त मिथिला चित्रकलाको शुरुवातसँगै नेपालमा वाल पेन्टिङको अवधारणाको विकास भइसकेको थियो । तर यो अवधारणा जातिविशेष वा स्थानविशेष चित्रकलाका रुपमा मात्रै सिमित रह्यो । 

यद्यपी केही समय यता भने राजधानीमा वाल पेन्टिङको क्रेज बढेको पाइन्छ । उपत्यकाका सार्वजनिक स्थलका भित्तादेखि व्यक्तिगत भवनका भित्ताहरु पनि वाल पेन्टिङले रंगिएका छन् ।

ट्रेन्डमा मात्र सिमित नभएर वाल पेन्टिङले धेरैजनाको लागि रोजगारीको अवसर पनि सिर्जना गरिदिएको छ । आफ्नो कलालाई भित्तामा छताछुल्ल पोखाए वापत् राम्रै आम्दानी हुने चित्रकारहरु बताउँछन् ।

पुरानो बानेश्वरको भित्तामा चित्र बनाउँदै गरेका चित्रकार लक्ष्मण श्रेष्ठ भन्छन् ‘विभिन्न होटेल, क्लब, पार्टी प्यालेसहरुबाट पनि अफर आइरहन्छ । त्यसैले वाल पेन्टिङलाई व्यवसायिक हिसाबले लैजाँदा पनि राम्रै पैसा कमाइन्छ ।’   

उनी झट्ट हेर्दा नबुझिने किसिमको चित्रहरु बनाउन रुचाउँछन् । बिम्ब र प्रतीकको प्रयोग गरेर । ‘मलाई बनाउन मनपर्ने मात्र होइन, सबैले हेर्न मनपराउने चित्र पनि त्यस्तै हो ।’ उनले हाँस्दै थपे ।

अधिकांश वाल पेन्टिङमा महिला हिंसा, आपसी मेलमिलाप र साझेदारी जस्ता सामाजिक विषयवस्तुदेखि स्वास्थ्य, राजनीति, पुनर्निर्माण आदि विषयहरुलाई समेटिइन्छ । 

कुनै ठाउँमा भने हाम्रो संस्कृति, परम्परालाई झल्काउने मिथिला चित्रकलाहरु पनि बनाइएको देख्न सकिन्छ । कन्क्रिट क्यानभासमा, परम्परागत चित्र !

त्यही सडक हुँदै आउजाउ गर्ने सर्वसाधारण केही क्षण भएपनि होल्ड भएर चित्र नियाल्न बाध्य हुन्छन् । 

कसैले भाव बुझ्छन्, मुस्कुराउँछन् । कोही फगत् चित्रको सुन्दरतामा रमाएर बाटो लाग्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?