यसरी जन्मिएको थियो ‘ऊ जितेर गई या हारेर गई’

ऊ जितेर गई या हारेर गई
नतिजा आफैतिर पारेर गई

यो गीत नसुन्ने नेपाली शायदै होलान् । तर यो गीतका सर्जक पुरुषोत्तम ढुंगेललाई भने कमैले चिन्छन् । सर्जकलाई नचिने पनि गीत यति लोकप्रिय छ कि, यो गीत रेकर्ड हुनुपूर्व नै चर्चामा थियो । पछि रेडर्क भएपछि पनि निरन्तर चर्चामा छ ।

कैयन् प्रेमिल मनले यो गीतका हरेक शब्दमा आफैलाई पाउँछन् । आफ्नो व्यथा पाउँछन् ।

पुरुषोत्तम ढुंगेल सुनाउँछन्, ‘गीत त मैले रचना गरेको हो, तर मैले नै यो गीत लेखेको भन्नै धेरैलाई थाहा हुँदैन, अहिले चाहिँ यो गीत लेख्ने को होला भन्ने धेरैलाई चासो छ ।’

सिर्जनामा बाँच्न धेरै रचना गर्नुपर्छ भन्ने छैन । राम्रो एउटै गीत भए पनि ऊ पछिसम्म बाँच्न सक्छ । हो, यस्तै बनाइदिएको छ पुरुषोत्तम ढुंगेललाई यो गीतले । वि.सं. २०६८ सालदेखि उनलाई निरन्तर म्यासेज आइरहेका हुन्छन् – ‘वाह क्या गीत लेख्नुभयो ।’

यसरी जन्मियो गीत

भन्छन् नि, बच्चाले आफैसँग भएको खुबीलाई पनि बेलैमा चिन्दैनन् । पुरुषोत्तम पनि त्यस्तै भन्छन्, ‘मैले यो गीत त लेखेँ, तर यति लोकप्रिय होला भन्ने लागेको नै थिएन, गीत रेकर्ड नुहँदै यो गीत संगीतका विद्यार्थीमाझ लोकप्रिय भइसकेको थियो ।’

पहिले गीतका दुई लाइन उनको दिमागबाट फुत्किएको थियो । त्यो लाइन थियो – ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई ।

गीत पूरा पनि लेखिएको थिएन । तर गीतको पहिलो लाइन नै साथी समूहमा लोकप्रिय भइसकेको थियो ।

‘जतिखेर यो गीत लेखियो, त्यतिखेर म गीतकार पनि भइसकेको थिएन, केही गजल लेख्थेँ, साथीहरुलाई सुनाउँथे, तर गीत खासै लेखिँदैनथयो’, ढुंगेल थप्छन्, ‘एकदिन अचानक निस्किएको यो अन्तरा राज (सिग्देल) जीलाई सुनाएँ, उहाँलाई गीत निकै मन परेछ, कम्पोज गर्न पठाउनुभएछ ।’

पुरुषोत्तमको पारिवारिक पृष्ठभूमि नै सांगीतिक । उनको संगत संगीतमा सङ्घर्ष गरेका राज सिग्देलसँग पनि थियो । उनको कोठामा जान्थे । गजल सुनाउँथे ।

त्यतिबेला दुवैले सङ्घर्ष गर्दै थिए ।

यो गीतपछि गायक राज सिग्देल पनि एकाएक लोकप्रिय बने । 

‘राज जीले सबै खाले गीत गाएपनि गजल गायक भनेर चिन्ने धेरै छन्, जहाँ पुगे पनि उहाँले यो गीत गाउनैपर्ने हुन्छ, उहाँका लागि पनि उत्तिकै लोकप्रिय गीत हो यो ।’, सर्जक पुरुषोत्तम बताउँछन् ।

‘राज जीलाई सुनाएर म फर्किएँ, उहाँले संगीतकार चण्डीप्रसाद काफ्ले जीलाई दिनुभएछ, उहाँले दुई मिनेटमै धुन तयार गर्नुभएछ’, पुरुषोत्तम भन्छन्, ‘रोपेर प्रेमको.. अन्तरा त मैले स्कूलमा विद्यार्थीको परीक्षा लिँदा गार्ड बसिरहेको बेलामा पो फुराएको थिएँ, पछि यो गीत सबैलाई मन पर्ने गीत बनेछ ।’

गीत बन्यो । यही गीत गाएर गायक राज सिग्देल रेडियो नेपालमा तेस्रो बने । गायनमा तेस्रो बनेपनि त्यतिबेला गीतले तरङ्ग ल्याइसकेको थियो । त्यसको ६ महिनापछि वि.सं. २०६८ सालमा गीत रेकर्ड गरियो । गीत एकाएक भाइरल भयो ।

एकपटक गीतका सर्जक माइक्रोमा हिँडिरहेका थिए । एक किशोरले आफ्नी साथीलाई भन्दै थिए – ‘एउटा गीत सुन्ने हो? निकै राम्रो छ, हिजो रातभरि यही गीत सुनिरहेको छु ।’

साथीले सुनाउन भनिन् । युवकले मोबाइलमा त्यही गीत बजाउन थाले । छेउको सिटमा बसेका पुरुषोत्तमलाई कसैले चिनेनन् । उनी मनमनै गदगद भए । एकछिनपछि उनी आफैले थपिदिएँ – ‘अँ, गीत त राम्रो रैछ, कसले लेखे होला है?’

ढुङ्गेल हाँस्छन् ।

फ्यानको माया

अहिले पनि उत्तिकै फोन आउँछन् पुरुषोत्तमलाई । मिडियामा अन्तर्वार्ता दिइरहेका हुन्छन् यही गीति परिवेशलाई लिएर । कतिले आफ्नो व्यथा गीतमा लेखिदिएको भन्दै सुनाउँछन् । कोही गीत सुनेर रोएको बताउँछन् । शुरुशुरुमा त उनलाई साथीहरुले नै आफ्नो गीत सुनाएर क्या राम्रो गीत छ भनिदिने रहेछन् ।

आफ्नै गीत अरुले राम्रो भनेर सुनाइदिने तर सर्जक नचिन्ने ।

राति बाह्र बजेतिर फोन आयो । फोनमा सिधै भनियो – ‘तपाईंसँग एकछिन कुरा गर्नु छ, फोन नकाट्नुस् है?’

‘म काठमाडौंबाट झापा जाँदा कतिले एउटा राम्रो गीत सुन् भन्दै मेरो गीत मलाई नै सुनाए ।’, ढुङ्गेल भन्छन् ।

उनी एउटा घटना जोड्छन्ः

राति बाह्र बजेतिर फोन आयो । फोनमा सिधै भनियो – ‘तपाईंसँग एकछिन कुरा गर्नु छ, फोन नकाट्नुस् है?’

त्यसपछि एक युवाले आफ्नो भावना व्यक्त गर्न थाले । उनले भन्न थाले, ‘तपाईंले गीतका हरेक शब्दमा मलाई लेख्नुभएको छ, यो गीत तपाईंको होइन, मेरो व्यथा हो, यो गीत सुनेर म कतिपटक रोएको छु, के तपाईंको आफ्नै पीडा हो यो?’

ती युवाले झण्डै पन्ध्र मिनेट फोन गरेर पीडा पोखे ।

पुरुषोत्तम सुनाउँछन्, ‘होेइन, यो मेरो आफ्नै पीडा होइन, यो गीत त सिर्जना हो, कसरी रचना भयो भन्ने पनि याद छैन, शायद अवचेतन मनले सिर्जना गरिदिएको थियो यो गीत ।’

पुरुषोत्तम आफूले प्रेममा बिछोड नदेखेको समेत बताउँछन् । सबैलाई बिछोड सम्झाउने गीत रचना गर्ने पुरुषोत्तमको वैवाहिक जीवन निकै सुन्दर छ । 

अहिले उनी कविता, गीत तथा गजल लेखनमा व्यस्त छन् । यही वर्ष उनले लेखेका सातवटा गीत सार्वजनिक हुँदैछन् ।

‘फिल्मका गीत पनि लेखिरहेको छु, कविता सङ्ग्रह निकाल्ने पनि योजनामा छु’, पुरुषोत्तम सुनाउँछन्, ‘पारिवारिक पृष्ठभूमि नै संगीतको भएर हो कि, पूरै नेपालका जनजातिमाझ लोकगीतको अध्ययन गर्ने मन छ, अनि नेपालको उठ्दै नउठेको विषयलाई उठाएर अङ्ग्रेजी आख्यान लेख्ने सपना छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?