अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सके नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेलकुद पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताएका छन् । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को १७ औँ विशेष साधारणसभा उदघाट्न सत्रमा उनले यस्तो प्रतिकृया दिएका हुन । 

मुख्यमन्त्री पौडेलले भने, ‘अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजना मार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ,’
साथै, उनले  खेल पर्यटन नेपालका लागि सबैभन्दा फाइदा पुग्ने क्षेत्र रहेको पनि बताए ।

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीति अघि सारेको उनले जानकारी दिए । 

मुख्यमन्त्री पौडेलले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताए । भूकम्पका कारण भत्किएको दशरथ रंगशाला निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको पनि उनले जानकारी दिए । 

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकूदको विकासका लागि सरकारले नयाँ—नयाँ नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशालाको आवश्यकता रहेको बताए । 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँलाएका थिए ।

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटबलका पाँच जना पूर्वखेलाडीलाई जिल्ला फुटबल संघ चितवनले सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?