‘एशियाड’मा यसपटक पदक संख्या बढ्छ : सदस्य सचिव

काठमाडौं । आसन्न इन्डोनेशियामा हुने १८ औ एशियाली खेलकुद ‘एशियाड’ मा विगतको तुलनामा भन्दा यसपाली धेरै पदक आउने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । 

जाकार्तामा यहि भदौ २ गतेबाट शुरु हुने ‘एशियाड’ मा यसपटक धेरै पदक ल्याउने बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । आसन्न ‘एशियाड’ मा ४५ राष्ट्रका ११ हजार खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

सो प्रतियोगितामा यसपाली नेपालबाट २९ खेलका २ सय ८५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमध्ये १ सय २९ पुरुष र ५६ जना महिला खेलाडी रहेका छन् । त्यस्तै, ४८ प्रशिक्षक, २४ ब्यवस्थापक, २७ अफिसियल र एक जना अनुवादक रहेका छन् । 

आसन्न ‘एशियाड’बारे जानकारी दिर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवकुमार विष्टले यसपाली तयारी राम्रो भएकाले पदकको संख्यामा वृद्धी हुने बताए । 

साथै, सदस्य सचिव विष्टले नेपालले मार्सल आर्टका खेल तथा ‘एशियाड’ मा पहिलो पटक भाग लिएको प्याराग्लाईडिङबाट पदकको आशा गरिएको जानकारी दिए । ‘एशियाड’का लागि २९ मध्ये २१ खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाइएको र उनीहरुको प्रर्दशनबाट देशले पदकको आशा गर्न सकिने बताए । 

‘एशियाड’को लागि ‘सेफ द मिसन’ समेत रहेका सदस्य सचिब विष्टले खेलाडी र ब्यवस्थापक बाहेक १ सय जना भन्दा बढी नेपाली पदाधिकारी इन्डोनेसिया प्रस्थान गर्ने बताए । 

इन्डोनेशिया जाने टोलीमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र पत्रकार रहेका छन् ।  त्यस्तै, सदस्य सचिव विष्टले २९ मध्ये २१ खेलका खेलाडीहरु  ‘एशियाड’का लागि इन्डोनेशिया गईसकेको पनि जानकारी दिए । 

यता, राष्ट्रिय खेलकुद परिषदले ‘एशियाड’को तयारीका लागि सरकारसँग ८ करोड रुपैयाँ माग गरेको थियो । तर सरकारले पाँच करोड निकासा गरेको र बाँकी नपुगेको रकम प्रतियोगिताबाट फर्किएपछि निकासा गर्ने आश्वासन दिएको सदस्य सचिब विष्टको बताए । 

२९ खेलमा सहभागिता जनाउन लागेको नेपालले २३ वटा खेल जाकर्ता र ६ वटा खेल पालेम्बाङमा खेल्नेछ ।

नेपालले आर्चरी, एथलेटिक्स, थ्री अन थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाईडिङ, लनटेनिस, सुटिङ, ट्रयथलन, सेपाकताक्रो, स्पोर्टस क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

सन् २०१४ मा कोरियामा सम्पन्न इन्चोन एशियाडमा नेपालका लागि करातेकी विमला तामाङले मात्र कास्य पदक जितेकी थिइन् । त्यस्तै, चीनको ग्वान्जाउ एशियाडमा बक्सिङका दिपक महर्जनले पनि कास्य पदक जितेका थिए ।

नेपालले अहिलेसम्म ‘एशियाड’मा २३ पदक जितेको छ । जसमा २२ कास्य र १ रजत पदक रहेको छ । तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपाललले ‘एशियाड’मा जितेको सबैभन्दा ठूलो पदक हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?