‘एन्फा’को १७ औं विशेष साधारणसभा : विधान र  नियमावली संशोधनसहित पारित

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को १७ औं विशेष साधारणसभा सम्पन्न भएको छ । 

बुधवार चितवनको सौराहामा सम्पन्न भएको विशेष साधारणसभाले फुटबलको विधान पारित गरेको हो । साधारणसभाले आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र नीति तथा कार्यक्रम सञ्चालनको विधानलाई संशोधन गरि बुधवार पारित गरेको हो । 

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले पठाएको सुझाब पत्रको कदर गर्दै ‘एन्फा’ले विधान विपरित कुनै कार्य नगरेको प्रस्ट पारेको छ । 

‘खेलकुद परिषद् र खेलकुद मन्त्रालयले पठाएको पत्रलाई हामीले ग्रहण गरेका छौं । त्यस पत्रमा नयाँ संरचना अनुसार विधान संशोधनले पछि पर्ने कुनै कार्य नगर्नु भन्ने निर्देशन आएको थियो । यस विषयलाई लिएर हामीले कार्य समिती बैठकमा छलफल पनि गरिसकेका छौं । त्यसअनुरुप एन्फाले कुनै विपरित कार्य गरेको छैनौं,’ प्रवक्ता किरण राईले बताए । 

गत सोमबार खेलकुद परिषद्ले ‘नयाँ संरचना अनुसार विधान संशोधन’ विषयमा एन्फालाई पत्र पठाएको उनले जानकारी दिए । 

तस्वीर: गोल नेपाल

‘राष्ट्रिय खेलकुद परिषद्को ऐनसँग बाँझिएको विधानमा पारित गरेको खण्डमा स्वत खाजेर हुन्छ । त्यसैले, खेलकुद मन्त्रालय र परिषदको निर्देशनलाई पालना गरेका छौं,’ उनले लोकपथलाई बताए । 
प्रवक्ता राईले ‘एन्फा’ले आगामी दिनमा गर्ने गतिविधीलाई पनि निकास दिएको जानकारी दिए । 

‘एन्फा’ले ७७ प्रतिशतबाट ९२ मताधिकार वृद्धी गरेको छ ।

‘यसपटकको कार्य समितीले १५ प्रतिशतले मताधिकार वृद्धी गरेका हौं । पहिले देखि नै क्लबहरुले मताधिकार कम भयो भन्दै गुनासो गर्दै आइरहेका थिए । हामीले क्लब मताधिकारलाई ‘सि’ डिभिजनलाई ९, ‘बी’ डिभिजनलाई ११ र जिल्ला फुटबल संघलाई ५ दिएका छौं । हामीले प्रदेश नं ५ मा १ मत, ६ नं मा २ र ७ नं २ मदाधिकार बढाएका छौं 
’ प्रवक्ता राईले स्पष्ट पारे । 

साथै, उनले मोफसलबाट राष्ट्रिय लिगमा बढुवा भएका ४ वटा क्लबलाई मताधिकार दिने निर्णय गरेको पनि जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?