कस्तो बन्ला त ‘दाल, भात, तरकारी’?

काठमाडौं । केही दिनअघि महसंचारले निर्माण गर्ने चलचित्र ‘दाल, भात, तरकारी’ को चर्चा छ । आज बुधवार काठमाडौंमा कार्यक्रमको औपचारिक घोषणा गरी चलचित्र निर्माण हुने बताइयो ।

यो चलचित्र कमेडी जानरामा निर्माण हुने भएको छ । यसै पनि महजोडीको भनेपछि त फिल्ममा कमेडी र सन्देश दुवै हुने नै भयो । यसमाथि फिल्ममा अर्का हास्य कलाकार किरण केसी पनि छन् । उनी यो फिल्ममा प्रस्तुतकर्ताका रुपमा छन् ।

यही टिमले गत वर्ष चलचित्र ‘शत्रु गते’ निर्माण गरेको थियो । सोही टिमले अर्को फिल्म पनि कमेडी र स्तरीय बन्छ कि भन्ने धेरैलाई लागेको छ । यसको नाम आफैमा पनि क्याची र भिन्दै छ । चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।

दुई हलिउड फिल्म ‘माइ लभ’ र ‘रिमेम्बर मी’ मा सह–निर्देशन समेत गरेका सुदनले ‘शत्रु गते’ मा पनि सहायक निर्देशनको जिम्मेवारी सम्हालेका थिए ।

अब बन्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारले अभिनय गर्नेछन् भने चलचित्रमा दाल, भात र तरकारी खान गरिने सङ्घर्षको कथालाई कथानक बनाइनेछ । फिल्मको कथालाई हरिवंश आचार्यले लेख्दैछन् ।

मंसीर पहिलो साताबाट फ्लोरमा जाने लक्ष्य लिएको यो चलचित्र अर्को वर्षको वैशाख १३ गते रिलिज हुने निर्माण टिमले जनाएको छ ।

पुष्प र स्वस्तिमाको जोडी रहने यो चलचित्रमा हरिवंश आचार्यले निरुता सिंहसँग जोडी बाँध्नेछन् । त्यस्तै चलचित्रमा विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरि पौडेल लगायतका कलाकारको पनि अभिनय रहने बताइएको छ ।

फिल्म कस्तो बन्ला भन्ने विषयमा मदनकृष्ण श्रेष्ठले भने, ‘हामीले आम मानिसकै कथा भन्ने छौं, यसमा पनि मलाई केही फरक भूमिकामा मलाई देख्न पाउनुहुनेछ ।’

चलचित्रलाई सरल र सटिक बनाउने निर्माण टिमले लक्ष्य लिएको छ । यस्तै चलचित्रमा मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङको छायांकन रहनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?