काठमाडौ : कुनै पनि अर्थतन्त्रको व्यापार घाटा चुलिनु भनेको निकासी कम र पैठारी बढी भएर जाने अवस्था हो ।भन्सार विभागको तथ्यांकको अध्ययन गर्ने जो सुकैले सहजै भन्न सक्छन् पैठरी र निकासीबीचको अन्तर वर्सेनी फराकिलो बन्दै गएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४– ७५ मा देशको व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको देखिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५३ प्रतिशतले बढी छ ।
गत वर्ष १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको व्यापार भएकोमा १२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको देखिन्छ । ८१ अर्ब १९ करोड रुपैयाँबराबरका नेपाली वस्तु मात्र अन्तर्रा्ष्ट्रिय बजारमा गएको पाइन्छ ।
नेपालमा कल कारखानाले उत्पादन गर्ने वस्तुको उत्पादन, गुणस्तर र परिणाम सबैको हिसाबले कमजोर देखिएको छ ।
नेपालका लागि सहज उपायको खोजीहरू पहिले गर्नुपर्छ । पहिलो उपाय भनेको पारवाहन लागत घटाउनु हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझाले पारवाहन लागत घटाउन सरकारलाई सल्लाह दिन्छन् । ओझाले भने “ व्यापारघाटा कम गर्न निकासी बढाउन र पारवहन लागत घटाउन बाहेक तत्काल अर्को विकल्प छैन ।”
भारतीय बजारमा प्रवेश गर्दा धेरै नेपाली वस्तुलाई धेरै अवरोध खेप्नु पर्छ । भन्सार शुल्क नलागे पनि गैरभन्सार अवरोध धेरै भएकाले निकासी बढ्न नसकेको कारण औंल्याउँदै ओझाले भने “। नेपाली वस्तुको निकासीमा बिना कारण रोक लगाउने गरिन्छ । यसले उत्पादक तथा कृषकहरूलाई नराम्रो असर पर्छ । निकासी व्यापारमा हाम्रा उत्पादनमूलक उद्योगको उत्पादन क्षमता निकै कम छ ।”
उत्पादनमूलक उद्योगहरूको क्षमता विस्तार र लगानी वृद्धि गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । स्वदेशी मात्रै नभएर प्रत्यक्ष वैदेशिक लगानी बढाउनु आर्थिक समृद्धि र विकासका लागि चाल्नै पर्ने महत्वपूर्ण कदम हो ।
जलविद्युतको विकास गरी बिजुलीका निर्यात गर्नु, भारत र चीनबाट बढी भन्दा बढी पर्यटक देश भित्र ल्याउनु, शिक्षा स्वास्थ्य क्षेत्रको सेवा व्यवसायलाई गुणस्तरी बनाई सेवा निर्यात गर्नु नै अहिलेको महत्वपूर्ण आवश्यकता भएको ओझाको भनाइ छ ।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका पूर्व अध्यक्ष राजन शर्माले क्वारेन्टाइन प्रक्रियलाई सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कृषि, खाद्यान्न, छालाजन्य सामग्रीलगायतमा क्यारेनटाइन सहज बनाउन सकिए नेपाली निर्यात बढाउन सजिलो हुने उनले जनाए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीतिगतरूपमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
राजस्व असुल गर्ने लक्ष्य आयातबाट मात्र पूरा गर्ने नीतिलाई नफेरेसम्म नेपालको व्यापार घाटा घट्ने नभए बढने उनले जनाए । विश्व व्यापार संगठन (डब्लूटीओमा) व्यापारघाटा कम गर्न अवलम्बन गर्न सक्ने प्रावधानलाई कार्यान्वयन हामी कहाँ ढिलाई गरिएको छ ।
उद्योगधन्दालाई सहजीकरण गर्नेभन्दा पनि बढी कन्ट्रोल गर्ने नीति लिइएको छ । भन्सार विभागका अनुसार १ सय ५५ मुलुकसँग नेपालले आयात र निर्यात व्यापार गरेकोमा आर्थिक वर्ष १ सय २८ मुलुकसँग व्यापारघाटा भएको छ ।
सबैभन्दा बढी व्यापारघाटा भारत र चीनसँग छ । ५७.४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ । यसबारे भारतसँग उपायको खोजी गर्न छलफल आवश्यक भएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया