काठमाडौं । विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ । यो पृथ्वीले हामीलाई दिएको सबैभन्दा सुन्दर उपहार प्रकृति हो।
मानव सभ्यताको अस्तित्व र विकास यस पृथ्वीको हावापानीमा आधारित छ, तर पछिल्ला केही दशकको तीव्र विकासको बीचमा हामी मानवहरुले प्रकृतिको महत्वलाई बेवास्ता गरेका छौं। पछिल्ला वर्षहरुमा प्रकृतिको अति शोषण भएको छ ।
दुई वर्षअघि कोरोनाका कारण गतिविधि ठप्प हुँदा हामीले स्वच्छ हावा देख्यौँ । सफा पानी देख्यौँ । अक्सिजनको स्तरमा सुधार भएको महसुस भयो। तब प्रकृतिले देखाएको छ कि यदि यसलाई पूर्ण हृदयले सम्हालियो भने, पुरानो स्वरूपमा फर्किन धेरै समय लाग्दैन।
जब विश्वले हरेक दिन विकासको नयाँ अध्याय लेखिरहेको छ, तब प्रकृतिलाई बचाउने र पुरानो स्वरूपमा फर्कने यो उपयुक्त समय हो। यो हाम्रो पालो हो, राम्रो भोलिको लागि तयारी गर्ने ढिला भइसकेको छ । अब पनि हामी सबैले आफ्नो ठाउँबाट नसोच्ने हो भने भविष्यका पिँढीहरुलाई निकै अप्ठ्यारो हुने देखिन्छ ।
अब हाम्रो पालो किन आवश्यक छ ?
यसपटक विश्व स्वास्थ्य सङ्गठनले विश्व वातावरण दिवसको नारा दिएको छ– ‘वान्ली वान अर्थ’ अर्थात् हामीसँग एउटै पृथ्वी छ, जसलाई बचाउन आवश्यक छ । ‘अब हाम्रो पालो’ पनि बुझ्न जरुरी छ किनभने हामी यो धर्तीको क्षमताभन्दा १।६ गुणा बढी शोषण गरिरहेका छौं । १० मध्ये नौ जनाले प्रदूषित हावामा सास फेरिरहेका छन् ।
आगामी दुई दशकमा तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने ५० प्रतिशत जोखिम छ । यदि जलवायु परिवर्तनका कारण इकोसिस्टम बिग्रियो भने यसले ३ अर्ब २० करोड मानिस अर्थात् विश्वको जनसंख्याको ४० प्रतिशतलाई असर गर्नेछ।
यदि हामीले यस पृथ्वीको १५ प्रतिशत जमिनलाई राम्रो वातावरणको लागि बचाउने हो भने ६० प्रतिशत प्रजाति लोपोन्मुख हुनबाट बचाउनेछौं।
विकसित तथा औद्योगिक राष्ट्रहरूबाट भएको अत्यधिक कार्बन उत्सर्जनबाट आज विश्वव्यापी रूपमा भइरहेको वातावरणीय विनाशको असरले नेपालजस्ता पर्वतीय र टापु राष्ट्रहरु बढी प्रभावित बन्नुपरेको छ ।
जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, आणविक हिउँद, अम्लीय वर्षा, जैविक विविधतामा ह्रास, हरित गृह प्रभाव, ओजोन तहको विनाश आदिबाट मौसमको स्वरूपमा परिवर्तन, अतिवृष्टि, अनावृष्टि, प्राकृतिक एवं दैविक प्रकोपजन्य भू–क्षय, बाढीपहिरो, भूकम्प, खडेरी, कृषि उत्पादनमा ह्रास, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव, खाद्यान्न सङ्कटजस्ता जटिलताको सामना गर्नुपरेको छ ।
वातावरण विनाशमा नगण्यरूपमा मात्र भूमिका रहेका नेपालजस्ता विकाशोन्मुख राष्ट्रहरूले कार्बनको बढ्दो उत्सर्जनलाई न्यूनीकरण गर्न योगदान पुर्याएवापत विकसित तथा औद्योगिक राष्ट्रहरूसँगको कार्बन व्यापारबाट लाभ लिन सक्नुपर्दछ ।
पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिउँ पग्लिने, सामुद्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरू डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमतालहरू फुट्ने, हिउँ पहिरो, सुक्खा पहिरोजस्ता खतराबाट पारिस्थितिक प्रणाली प्रत्यक्ष वा अप्रत्यक्षरूपमा परेको असरबाट बच्न आन्तरिक तयारी र बाह्य जगत्सँग यसबारेमा दरिलो ढङ्गबाट वकालत गर्ने क्षमता वृद्धि गर्नुपर्ने खाँचो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया