काठमाडौं । नेपाल भुटानमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।
चाम्लिङथाङ रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्दी भारतसँग २-१ अन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना चकनाचुर भएको हो ।
प्रतिस्पर्धात्मक खेलको ३१ औं मिनेटमा भारतका लागि लेन्डा कोमले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् ।
कोमले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको नेपालका लागि ३७ औं मिनेटमा रजनी थोकरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् ।
दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको भारतका लागि ५८ औं मिनेटमा क्रितिना देबिले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्याइन् ।
निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न भने सकेन र खेल २-१ ले हार्यो ।
यसअघि नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई पराजित गरेको थियो भने साबिक विजेता बंगलादेशसँग हार बेहोरेको थियो ।
जीतपछि भारत भने फाइनलमा प्रवेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया