प्रदीप खड्काको ‘रोजी’ को नाम फेरियो

काठमाडौं । रिलिजको संघारमा आएर चलचित्र ‘रोजी’ टिमले नाम परिवर्तन गरेको छ । शुरुदेखि नै विवादमा पर्दै आएको यो फिल्मको नाम परिवर्तन गर्न भन्दै रोजी महर्जनका आफन्तले कुरा उठाउँदै आएका थिए ।

अहिले आएर फिल्मले नाम परिवर्तन गरेर ‘रोज’ बनाएको छ ।

फिल्मको कथा काठमाडौंकी रोजी महर्जन हत्याकाण्डसँग मिल्ने र यसले नकारात्मक प्रभाव पार्ने भन्दै महर्जनका परिवारले कुरा उठाउँदै आएका थिए । यही विवाद लम्बिँदा बीचमा केही समय फिल्मको छायांकन समेत रोकिएको थियो ।

केही समयअघि टिजर लिक भएको फिल्मको एक गीत सार्वजनिक भइसकेको छ । प्रचारमा पनि ‘रोजी’ नाम नै प्रयोग गरेको फिल्मले अन्तिम समयमा आएर नाम फेरेको हो ।

आज बिहीवार विकास बोर्डमा फिल्मका निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी, मृतक रोजीका परिवारबीच सम्झौताअनुुसार फिल्मको नाम फेरिएको हो भने अब फिल्मलाई सत्य घटनामा आधारित भन्न पाइने छैन ।

निर्देशक निरक पौडेलले भने कानूनी रुपमा आफू माथि भए पनि मृतकको संवेदनालाई मध्यनजर गरेर नाम परिवर्तन गरेको बताए ।

चलचित्र यही भदौ २२ गते रिलिज हुँदैछ भने चलचित्रमा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?