काठमाडौं । बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीररुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ ।
समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यानको बाहेक अन्य के-के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन ।
यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ ।
सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाएको छ । सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ । कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन् । त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ ।
यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो । यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए । प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया