काठमाडौं । नेक्स्ट मोडल्स नेपालको आयोजनामा काठमाडौंमा ‘आईसी डिजाइनर रनवे ११’ फेसन शो हुने भएको छ । विगतका वर्षझैँ यस वर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदनसमेत खुला गरेको छ । उसले ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्ने प्रावधान राखेको छ । छनोट आगामी ११ जुन अर्थात २८ जेठमा शनिबार हुनेछ ।
फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९औँ ब्याचका पास आउट विद्यार्थी हुन् ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको संस्थाका सिइओ रवि धमलाले बताए ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया