काठमाडौं। सेयर बजारमा निरन्तर गिरावट आएपछि सेयर लगानीकर्ताहरुले संघर्षरत आन्दोलन थालेका छन् । सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई विभिन्न मागसहित १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
लगानीकर्ताहरुले दबाबस्वरुप लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति आफूहरू सकारात्मक रहेको बताउँदै मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बोर्डले गर्न सक्ने खालका मागहरू सम्बोधन गर्न पहल गर्ने बताउँदै उनले लगानीकर्ताहरु अनशन नबस्न समेत आग्रह गरेका छन् ।
लगानीकर्ताहरुसँगको छलफलमा अध्यक्ष हमालले यति दिनमै माग पुरा हुन्छ भनेर मिति यकिन गर्न नसकेपनि बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्न आवश्यक कदम चालिसकेको र केही मागहरू छिट्टै नै पूरा गर्ने बताएका छन् ।
नियमनकारी निकायहरुले गर्नुपर्ने कामहरु पनि गर्न नसकेको आरोप लगाँउदै उनीहरुले सेयर बजारको लागि सहि नीति नियम लागू गरेर बजारलाई स्वतन्त्र रुपमा छाडिदिन लगानीकर्ताहरुले आग्रह गरेका छन् ।
नियमनकारी निकायले सेयर बजारलाई अनावश्यक नीति ल्याएर कस्न खोजेको लगानीकर्ताहरुको आरोप छ । उनीहरुले तत्काल ४/१२ को धितोकर्जा सीमा हटाउन माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया