काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार पुन: १५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन चारवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘छ’ (४ वर्षे) जारी गर्न लागिएको हो ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सकिने उक्त ऋणपत्र खरिदको लागि मंगलबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
निष्काशन मिति २०७९ जेठ २५ गते र सावाँ भुक्तानी मिति २०८३ जेठ २५ तोकिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् भने बिक्री गरिने कुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
राष्ट बैंकका अनुसार खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।
राष्ट्र ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया