तपाईँले चुनेका वडाध्यक्षले के–के काम गर्छन्, थाहा छ ?

लोकपथ
1.6k
Shares

काठमाडौं । तपाईँको पालिकाभित्र रहेको हरेक वडामा संवैधानिकरूपमै कार्यकारी अधिकार पाएका व्यक्ति हुन्, वडाध्यक्ष । के तपाईंले भर्खरै सकिएको स्थानीय तहको चुनावमा भोट हालेर जिताउनुभएको वडाध्यक्षले तपाईँका लागि के गर्छन् भन्ने बारेमा थाहा छ ? छैन भने यो सामग्री पूरै पढ्नुहोला ।

आम बुझाइमा पालिकाको प्रमुख र उपप्रमुख नै सर्वेसर्वा हुन् भन्ने छ । तर, त्यसो होइन । तपाईँको पहिलो र नजिकको सरकारप्रमुख नै तपाईँको वडाका अध्यक्ष हुन् ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्थामा पनि वडाध्यक्षको काम, कर्तव्य र अधिकारका बारेमा अलग्गै व्यवस्था गरिएको छ ।

हरेक वडाका अध्यक्ष सम्बन्धित गाउँ–कार्यपालिका वा नगर–कार्यपालिकाको स्वतः सदस्य हुनेछन् । अर्थात् उनीहरू त्यो गाउँपालिकाको कार्यकारी निकायका सदस्य बन्नेछन् ।

संविधानले नै हरेक कार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनुपर्ने व्यवस्था गरेको छ । कार्यविभाजन नियमावली बनाउँदा पालिकाका सदस्य अर्थात् वडा अध्यक्षहरूलाई कामको जिम्मेवारी पनि तोकिनेछ ।

कार्यकारी निकायका ती सदस्यले आफ्नो वडाको कामबाहेक पालिकाभरको कुनै विशेष क्षेत्रको अधिकार लिएर काम गदर्छन् । वडा अध्यक्षलाई पालिकाप्रमुखले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, कृषिजस्ता क्षेत्रमध्ये कुनै एकमा संयोजक तोक्नसक्ने व्यवस्था छ ।

कुनै पनि पालिकामा वडा अध्यक्षहरू गाउँसभा वा नगरसभाको स्वतः सदस्य हुने व्यवस्था भएकाले कुनै पनि पालिकामा त्यहाँको कानुन बनाउने काममा वडा अध्यक्षको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

पालिकाप्रमुख, उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेटलाई पास गर्ने वा नगर्ने भन्ने महत्वपूर्ण भूमिकामा पनि वडाध्यक्ष नै रहन्छन् ।

वडाध्यक्षले गर्ने काम यी पनि हुन् :

  • वडासमितिको अध्यक्ष भई काम गर्ने ।
  • वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने ।
  • सिफारिस तथा प्रमाणितसम्बन्धी काम गर्ने ।
  • वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने/गराउने ।
  •  विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेस गर्ने ।
  • सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक, प्रशानिक तथा सिफारिससम्बन्धी कार्य गर्न सम्बन्धित वडासमितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने ।
  • कार्यपालिका, सभा वा वडासमितिले तोकेका अन्य काम गर्ने… आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?