काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२औँ संस्करणको लागि आवेदन फर्म खुला भएको छ ।
इमेज च्यानलबाट दुई दशकअघिदेखि वार्षिकरुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२औँ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो ।
यस वर्ष गीत, संगीत, रचनालगायत म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरी जम्मा १५ विधाका लागि आवेदन फर्म खुला गरिएको इमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले जानकारी दिए ।
यस पटक २०७६ साल असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिनेछ । प्रत्येक विधाको उत्कृष्ट पाँँच मनोनयनका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरुबाट प्राविधिक भोट ( Technical Vote ) लिइनेछ ।
इमेज अर्वाडमा यस वर्ष नेपहप र्याप पर्फमेन्स पनि थप गरिएको छ । यस पटक मात्र एक विधा पब्लिक च्वाइस अर्वाडका लागि भोटिङ खुला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्दछ, सोही गीतलाई विजेता घोषणा गरिनेछ ।
२०७६ यता कोरोना महामारीका कारण निरन्तर हुन नसकेको अवार्डलाई फेरि निरन्तरता दिइएको हो । समस्त गीत संगीतप्रेमीहरुलाई यस अवार्डमा सहभागी हुन आयोजक इमेज च्यानलले आग्रह गरेको छ ।
आवेदन फर्मको शुल्क १ सय रुपैयाँ तोकिएको छ । आवेदन फर्म इमेज खबर डट कमबाट डाउनलोड गर्न सकिनेछ । आवेदन शुल्क फर्म बुझाउँन आउँदा इमेज च्यानलको कार्यालय काठमाडौंको लाजिम्पाटस्थित इमेज कम्प्लेक्समा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ । आवेदन फर्म बुझाउने अन्तिम मिति २०७९ असार २० गतेसम्म तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया