काठमाडौं । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एसियाड’ अन्तर्गत पुरुष फुटबलमा आइतवार नेपालले पाकिस्तानको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समय अनुसार पौने ५ बजेपछि शुरु हुँदैछ ।
२ खेलमा पराजित भएपनि समूहको तेस्रो टिम पनि दोस्रो चरणमा पुग्नसक्ने भएको हुँदा नेपालको गणितीय सम्भावना मात्र बाँकी रहेको छ।
समूह ‘डी’को अन्तिम खेलमा जीत हात पारे नेपालले इतिहास रच्नेछ । नेपालले एशियाली खेलकुदमा खेलेको कुनै पनि खेलमा जीत हात पार्न सकेको छैन् ।
समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
समूह चरणमा कमजोर देखिएको पाकिस्तानलाई पराजित गर्दै नेपाल इतिहास बनाउने लक्ष्यमा रहेको छ । पाकिस्तान समूह चरणका भियतनामसँग ३–० र जापानसँग ४–० ले पराजित भएको थियो ।
नेपालले ‘एशियाड’मा १७ खेलमा ६८ गोल खाँदा केवल १ गोल मात्र फर्काएको छ । नेपालले सन् १९८२ मा पहिलो पटक ‘एशियाड’ खेलकुदमा भाग लिएको थियो ।
भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध वाइबी घलेले गोल गर्दै इतिहास बनाएका थिए । त्यसपछि नेपालले एशियाली खेलकुदमा गोल गर्न सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया