काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
उनले भने, “मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।”
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणको योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध जानकारी दिए । प्रशिक्षणमा सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित जानकारी दिइने जनाइएको छ ।
मधेश सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनुषा र पर्साबाहेक छ जिल्लास्थित स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता छ । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया