काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुने भएको छ । यही जेठ २७ गते शुक्रबार नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर-एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एकआपसमा गाभ्न गाभिनको लागि सम्झौंता गरेका हुन ।
सम्झौंतामा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् ।
बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जर पछि बैंकको नाम “नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैंयाँ रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैंयाँ चुक्ता पुँजी भएको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब ७२ करोड र मेगा बैंक नेपालको पाँच अर्ब ९२ करोेड, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको एक खर्ब ७३ अर्ब ४६ करोड र मेगा बैंकको एक खर्ब ५० अर्ब ४६ करोड र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको एक खर्ब ८२ अर्ब एक करोड र मेगा बैंकको एक खर्ब ५२ अर्ब आठ करोड रुपैंयाँ रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षहरुले जानकारी गराएका थिए ।
उनीहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया