नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) यतिबेला चुनावमा होमिएको छ । एन्फाका सबै पदाधिकारी र प्रतिनिधिहरू निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दौडधूपमा छन् । असार ६ गते एन्फाको केन्द्रीय निर्वाचन हुँदै छ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
त्यसो त एन्फाभित्र हुने राजनीतिका कारण पनि एन्फा बेला–बेला विवादमा आउने गरेको छ । प्रत्येक दिन हुने राजनीति र चलखेलका कारण पनि एन्फाको राजनीति मैदानसम्म पुग्ने गरेको जगजायर नै छ । कहिले खेलाडी त कहिले प्रशिक्षक एन्फाको भित्री राजनीतिको चपेटामा पर्ने गरेका छन् ।
एन्फाको राजनीतिमा पार्टीगत प्रभाव भए पनि दलगत हस्तक्षेप न्यून भएको देखिन्छ । किनभने विगत ४ वर्षदेखि एन्फामा भइरहने राजनीति हो, वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको ‘कर्मानीति’ र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको ‘पंकजनीति’ ।
एन्फाभित्रकै मनमुटावका कारण पनि पार्टीगत राजनीतिको प्रभाव कम देखिन्छ । हुन त शेर्पा र नेम्वाङ दुवै नेपाली कांग्रेस पार्टीका हुन् । तर अघिल्लो कार्यकालमा ४ जना निर्वाचित उपाध्यक्षमध्येबाट शेर्पाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेका थिए । मनोनीत गरेको केही समय बित्न नपाउँदै नेम्वाङ र शेर्पाबीच मनमुटाव सुरु भएको थियो, जसको असर फुटबल जगतले ४ वर्षसम्म भोग्नु पर्यो।
एन्फाका ३ चर्चित खेलाडी :
गणेश थापा :
झण्डै २० वर्ष एन्फाको नेतृत्व गरेर बसेका गणेश थापालाई फिफाले भ्रष्टाचार गरेको आरोपमा प्रतिबन्ध लगाएसँगै एन्फाको नेतृत्वले नयाँ रूप लिएको थियो ।
थापालाई फिफाले १० वर्षको प्रतिबन्ध लगाएको अहिले ६ वर्ष पुगेको छ । उनले खेलाडीकै रूपमा पनि नेपाली फुटबलमा १५ वर्ष बिताए । करिब ३५ वर्ष नेपाली फुटबलको सेरोफेरोमा रहेका थापाको प्रतिबन्धसँगै कर्मा छिरिङ शेर्पाले एन्फालाई सम्हालेका थिए ।
शेर्पाको कार्यसैली र प्रवृत्तिबाट रुष्ट बनेका थापाले फेसबुकमा शेर्पाविरुद्ध धावा बोल्दै आइरहेका छन् । थापा यस पटकको निर्वाचनमा ‘शेर्पा हराऔँ अभियान’मा लागेका छन् । प्रतिबन्धपछि पनि थापालाई एन्फा राजनीतिका निकै ठूलो खेलाडीका रूपमा लिइन्छ ।
कर्माछिरिङ शेर्पा :
एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो दोस्रो र अन्तिम कार्यकालका लागि फेरि एक पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् । शेर्पाले आफ्नो कार्यकालमा केही हदसम्मको प्रभाव त बनाउन सफल भए तर सँगसँगै उनले धेरै आरोप प्रत्यारोपको पनि सामना गर्नुपर्यो । खेलाडी बन्द प्रशिक्षण छोडेर हिँडेका कारण व्यवस्थापन गर्न नसकेको भन्दै उनीमाथि प्रश्न उठेको थियो । आफैँले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेका नेम्वाङ र उनीबीच लामो समयसम्म सहकार्य हुन सकेन । सोही कारण शेर्पाले आफ्ना भन्नेहरूको साथ गुमाएका छन् । नेम्वाङ र शेर्पाबीचकै विवादका खबरहरू हेडलाइन बने ।
शेर्पाले आगामी कार्यकालका लागि ५ मुख्य योजना बनाएका छन्, जसमा पुरानै योजनाको निरन्तरतालाई उनले पहिलो नम्बरमा राखेका छन् । त्यस्तै पोखरामा एक्सिलेन्ट सेन्टर बनाउनेदेखि सबै जिल्लामा ग्रासरुट ट्रेनिङ सेन्टर बनाउने प्रतिबद्धता उनले जनाएका छन् । साथै उनले काठमाडौंमा भएका खाली जग्गालाई काठमाडौं महानगरसँगको सहकार्यमा महानगरमा रहेका खाली जग्गा प्रयोग गरी यहाँका क्लबको लागि प्रयोग गर्ने बताएका छन् । आसन्न निर्वाचनमा कर्माले उही पंकजविक्रम नेम्वाङसँग चुनाव लड्दै छन्, जसलाई अघिल्लो कार्यकालमा उनैले वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका थिए । शेर्पा क्लब र जिल्लामा बलियो मानिन्छन् ।
पंकजविक्रम नेम्वाङ :
पूर्वका पंकजविक्रम नेम्वाङले आफूलाई अध्यक्षको प्रत्यासीका रूपमा अगाडि सारेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङ एन्फामै रहेर एन्फाभित्र हुने विकृतिको विरुद्ध आवाज उठाउँदै अन्तरसंघर्षमै रहे । तर आफूलाई नै मनोनीत गरेका शेर्पा र उनीबीच निकै ठूलो टसल भएको थियो । त्यसैले यो कार्यकालमा उनी निकै चर्चामा रहे । उनलाई नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नाम किटान गरेर राजीनामाको घोषण प्रकरणले पनि चर्चामा ल्यायो ।
एन्फा अध्यक्षको प्रत्यासी बनेसँगै उनले केही एजेण्डाहरू पनि प्रस्तुत गरेका छन् । नेतृत्वमा बस्ने मान्छेमा इमान्दारिता र जवाफदेहिता हुनुपर्ने उनको तर्क छ । सचिवालयलाई व्यवस्थित बनाउने उनको अठोट छ । सचिवालय व्यवस्थित भएपछि आधा काम त्यहीँबाट सहज हुने उनको बुझाइ छ ।
त्यस्तै राष्ट्रिय लिगहरू सुरु गर्ने उनले बताएका छन् । ए, बी र सी डिभिजन क्लबहरूलाई अझै व्यवस्थित बनाउने र सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । साथै उनले देशका विभिन्न स्थानमा गरी ५० वटा एकेडेमी बनाउने प्रतिबद्धता जनाएका छन् ।
एन्फा निर्वाचनको अंकगणित :
निकै चर्चामा रहेको एन्फा निर्वाचनको कुल मत ८७ हो । तर सिन्धुली र भक्तपुर जिल्ला समावेश नभएपछि अब ८५ मत मात्र रहेका छन् । एन्फा निर्वाचनमा ४३ जिल्लाबाट प्रतिनिधिको ४३ मत, ए, बी र सी डिभिजन लिगबाट ३४ क्लबको ३४ मत, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लबबाट ४ मत र संघ ९खेलाडी, प्रशिक्षक, रेफ्री, महिला०बाट ४ मत गरी जम्मा रहेको छ ।
प्रदेश गत विवरण :
प्रदेश १ का जिल्लामा पंकजविक्रम नेम्वाङको पकड देखिन्छ । पूर्वका जिल्ला नै पंकजको ब्याक्फोर्स हुन् । मधेश प्रदेशमा कुल ८ भोट रहेको छ । मधेश प्रदेशमा पनि पंकज प्यानलमा बढी उम्मेदवार भएकाले पंकजकै पल्ला भारी देखिएको छ । बागमती प्रदेशमा कुल ९ भोट छ । एन्फाका पूर्वअध्यक्ष गणेश थापाको बलियो प्रभाव रहेको बागमती प्रदेशमा पनि पंकज प्यानलका उम्मेदवारहरू बढी रहेका छन् ।
गण्डकी प्रदेशबाट आउने ६ भोटमध्ये अधिकांशको समर्थन कर्मालाई देखिन्छ । लुम्बिनी प्रदेशको ६ भोटमध्ये ५ भोट कर्मा प्यानलको रहेको छ । बाँकेका एक सदस्य पंकजको प्यानलबाट उम्मेदवार रहेका कारण बाँकेबाहेकको सबै ५ भोट कर्माको पक्षमा देखिन्छ ।
त्यसैगरी कर्णाली प्रदेशको दुई भोटमध्ये एक भोट कर्माको हो भने एक भोट पंकजको हो । जुम्लामा कर्मा प्यानलबाट सदस्यका उम्मेदवार र सुर्खेतका पंकज प्यानलबाट सदस्यका उम्मेदवार छन् । कर्णालीजस्तै सुदूरपश्चिम प्रदेशमा पनि कैलाली र कञ्चनपुरबाट एक-एक भोट रहेका छन् । कैलालीबाट पंकज प्यानलबाट सदस्यका उम्मेदवार छन् भने कञ्चनपुरका उम्मेदवार स्पस्ट रूपमा दुवै प्यानलसँग खुलेका छैनन् ।
राष्ट्रिय लिग :
राष्ट्रिय लिगमा छनोट भएका मनकामना, त्रिवेणी, धम्बोजी र स्टार सिटी क्लबले मत दिनेछन् । त्रिवेणी कर्मा प्यानल र मनकामना पंकज प्यानलमा स्पष्ट छन् । धम्बोजी र स्टार सिटी क्लबमा पंकज हाबी भए पनि ढुक्क हुनसक्ने अवस्था भने छैन ।
ए डिभिजन क्लब :
विभिन्न अन्तर्वारतामा कर्माले ए डिभिजनमा आफूलाई १० क्लबको साथ रहेको बताएका छन् । ए डिभिजनमा १४ क्लबले मतदान गर्नेछन् । कर्माको दाबीलाई मान्ने हो भने ए डिभिजन क्लबबाट उनलाई १० भोट आउने देखिन्छ । पंकजको पक्षमा ए डिभिजनका ४ क्लब स्पष्ट रूपमा खुलेका छन् ।
बी डिभिजन क्लब :
बी डिभिजन क्लबमा कुल ११ भोट छन् । बी डिभिजनमा पनि कर्माकै पल्ला भारी देखिन्छ । ११ मध्ये ९ क्लबले कर्मालाई रोजेका छन् भने ४ क्लबले पंकजलाई रोजेका छन् ।
सी डिभिजन क्लब :
सी डिभिजन क्लबसँग कुल ९ भोट रहेको छ । सी डिभिजन क्लबमा भने पंकज प्यानल हाबी देखिन्छ । सी डिभिजन क्लबबाट ८ भोट ल्याउने पंकज प्यानलको दाबी छ भने समाज कल्याणको मात्रै भोट कर्माको पक्षमा देखिन्छ ।
त्यसो त दुवै पक्षले आफूले निर्वाचनमा जित हात पार्ने आकलन गरेका छन् । कर्मा र पंकज दुवैले निर्वाचनको नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया