दश हजार खेलाडीलाई १२ औँ काठमाडौं म्याराथनमा सहभागी गराउने लक्ष्यः निलेन्द्रराज श्रेष्ठ

काठमाडौं । आगामी अक्टोबर ४ तारिखदेखि काठमाडौंमा १२ औँ काठमाडौं म्याराथन स्पोर्टस एक्स्पो हुने भएको छ । 

प्रो स्पोर्टस, इभेन्ट्स सोलुसन र निलेन्द्रराज श्रेष्ठको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यो प्रतियोगिता अन्तर्गत ६ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, ५ किलोमिटर खुल्ला दौड, ५ किलोमिटर स्कुल र ५ किलोमिटर भेट्रान विधामा खेलाडीहरुले भाग लिने आयोजक निलेन्दराज श्रेष्ठले जानकारी दिए । 

‘हामीले पहिलो संस्करणदेखि नै म्याराथनका साथै स्पोर्ट एक्स्पो पनि गर्न चाहेका थिए । तर, विविध कारणले त्यो सञ्चालन गर्न सकेको थिएन । यस पटक हामीले पहिलो पटक म्याराथनका साथै स्पोर्टस एक्स्पो पनि गर्न पाउँदा खुशी लागेको छ ।’ उनले लोकपथलाई भने । 

साथै, उनले अरु राष्ट्रहरुमा अन्तर्राष्ट्रिय म्याराथनसँगै स्पोर्टस एक्स्पो पनि हुने बताए । ‘विगतको संस्करणमा जस्तै यसपटक पनि अन्तर्राष्ट्रिय एथ्लेटहरु सहभागी हुँदैछन् । २० राष्ट्रका करिब एक सय खेलाडीले भाग लिदैंछन् ।’ उनले थपे । 

आयोजक श्रेष्ठले गत वर्ष भुमिराज राईले म्याराथनमा बनाएको २ घण्टा २१ मिनेट २४ सेकेन्डेको रेकर्ड तोड्ने नयाँ खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गर्ने पनि बताए । 

म्याराथनतर्फको विजेता खेलाडीले नगद एक लाख, उपविजेता हुनेले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, हाफ म्याराथनका च्याम्पियन खेलाडीले ५० हजार, दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ जित्नेछन् ।

तीनसम्म चल्ने यो प्रतियोगितामा करिब १० हजार खेलाडीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?