चीनले आफ्नो मुद्राका लागि चलखेल गरेको ट्रम्पको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चिनियाँ सामानमाथि लगाएको महशुलसँग जुध्न चीनले आफ्नो मुद्राका लागि चलखेल गरेको आरोप लगाएका छन् ।

ट्रम्पले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा चीनमाथि यस्तो आरोप लगाएका हुन् ।

चीन र अमेरिकाबीच जारी व्यापार युद्धका विषयमा यो साता वासिंटनमा दुई देशका नेताहरूबीच भेटवार्ताको तयारी भइरहेका बेला ट्रम्पले यस्तो आरोप सार्वजनिक गरेका हुन् ।

तल्लो तहका अधिकारीहरूबीच हुने भनिएको यो वार्ताबाट दुई देशबीचका तनावहरू कम गर्न सफलता प्राप्त हुनेमा धेरैले आंशका गरेका छन् ।

ट्रम्पले यो बैठकबाट धेरै अपेक्षा आफूले नगरेको बताए ।साथै उनले दुई ठूला अर्थतन्त्रबीचको भिडन्तलाई तह लगाउने कुनै समय खाका आफूसँग नभएको बताए ।

गत जुलाईमा दुई देशले एक अर्काको उत्पादनमाथि ३४ अर्ब अमेरिकी डलर बराबरको वस्तुमा महशुल बढाएका थिए ।

अमेरिकाले १६ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा थप महशुल अगस्ट २३ देखि थोपर्ने योजना बनाएको छ ।

अमेरिकाले चिनियाँ सामानमा महशुल बढाए त्यसको जवाफ त्यसैगरी दिने चीनले प्रतिबद्धता व्यक्त गरेको छ।

अमेरिकी प्रशासनले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ वस्तुमा अतिरिक्त शुल्क लगाउने विषयमा तयारी अगाडि बढाएकोछ । यसको विषयमा यो साता वासिंटनमा सुनुवाई हुनेछ ।

यो महिना ट्रम्पले महशुल १० प्रतिशतको साटो २५ प्रतिशत बढाउन भनेको उनको प्रशासनले घोषणा ग-यो ।

रोयटर्ससँग कुराकानी गर्दै ट्रम्पले भने “ मलाई लाग्छ चीनले आफ्नो मुद्राको लागि गडबडी गरिरहेको छ ।”

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ केही मुद्रा स्थानान्तरणका लागि जिम्मेवार बैंक हो । ट्रम्पले आफूले फेडरल रिजर्भको त्यो जिम्मेवारीलाई रोकेको बताए ।

यो बैंकले गतिविधि ग-यो भने अन्य केन्द्रीय बैंकले पनि नीतिगत परिवर्तन गर्छ ।

ट्रम्पले भने “हामी अन्य देशहरूसँग सम्झौता गर्न गरिरहेका छौं । हामी जितिरहेका छौं ।”

चिनियाँ मुद्राको साथै युरोपेली मुद्रा युरोपमा गडबडी गरिएको बताए ।

ट्रम्पले फेडरल रिजर्भले ब्याज दर बढाएकोमा फेरि आलोचना गरे ।

ट्रम्पले नियुक्त गरेका फेडअध्यक्ष जेरोम पावेलले यो वर्ष दुई पटक ब्याज दर बढाइसकेर अर्को पटक ब्याज दर बढाउने योजनामा रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?