काठमाडौं । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले यो संसार छाडेको आज दुई वर्ष पूरा भएको छ । १४ जुन, २०२० मा सुशान्त आफ्नो फ्ल्याटमा मृत फेला परेका थिए।
उनको मृत्युलाई आत्महत्या भनिएको छ । एम्सको अनुसन्धानले पनि उनले आत्महत्या गरेको पुष्टि गरेको छ । तर, उनको परिवार र प्रियजनहरूले सुशान्त सिंह राजपुतले आत्महत्याजस्तो कदम चाल्न नसक्ने अडान लिँदै आएका छन् ।
उनको मृत्युपछाडिको सत्यता अर्कै छ । जब सुशान्तको परिवारले पनि छोराको मृत्युको सत्यतथ्य पत्ता लगाउन आवाज उठायो र अनुसन्धान सुरु भयो, तब सुशान्तकी कथित प्रेमिका रिया चक्रवर्तीदेखि लिएर धेरै मानिसमाथि शंकाको सुई अड्कियो । अनुसन्धानका क्रममा विभिन्न मोड आए । दुई वर्षदेखि अनुसन्धान चलिरहेको छ ।
कति अगाडि बढ्यो त आत्महत्याको अनुसन्धान ? को–को परे पक्राउ को–को भए रिहा ?
अभिनेताको मृत्यु भएको भोलिपल्ट अर्थात् १५ जुनमा सुशान्तको मुम्बईको पवन हंस शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्याको घटना भने पनि त्यसबेला धेरै प्रश्न उठेका थिए, जसको जवाफ आजसम्म कसैले दिन सकेको छैन ।
एकातिर सुशान्तका बुबा केके सिंहले छानबिनको माग गरेका छन् । यसबाहेक धेरै राजनीतिक व्यक्तित्वले पनि हत्या षड्यन्त्र भएको भन्दै छानबिनको माग गरेका थिए । यो देखेर बलिउडभित्र पनि धेरै प्रश्न उठ्न थालेका छन् । अभिनेत्री कंगना रनौतले बलिउडमा सुशान्तलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै धेरै प्रश्न उठाएकी छिन् ।
अझै छोराको हत्यारा पत्ता लाग्ने आशमा सुशान्तका बुबा
सुशान्तका बुवासहित सम्पूर्ण परिवारलाई घटनाको पछाडि कुनै न कुनै षड्यन्त्र भएको आशंका थियो। यसैबीच, सुशान्तका भिनाजु र उत्तर प्रदेशका आईपीएस अधिकारी ओपी सिंहले यस विषयमा गहिरो अनुसन्धानको माग गरेका छन्। जुलाई २९ २०२० मा सुशान्त सिंह राजपूतका बुबा केके सिंहले छोराको कथित प्रेमिका रिया चक्रवर्तीसहित छ जनाविरुद्ध पटनाको राजीव नगर प्रहरी चौकीमा आत्महत्या गर्न उक्साउने र पैसाको आदानप्रदान गरेको आरोपमा एफआईआर दर्ता गरे तब घटनाले नयाँ मोड लिएको थियो ।
त्यसपछि २९ जुलाईमा पटना प्रहरीको टोली अनुसन्धानका लागि मुम्बई गयो । तर, पटना प्रहरी टोलीले महाराष्ट्र प्रहरीबाट सहयोग नपाएपछि विरोधको सामना गर्नुपरेको थियो । रिया चक्रवर्तीले अनुसन्धान सुरु हुनुअघि नै १८ जुनमा मुम्बईको बान्द्रा पुलिस स्टेशनमा आफ्नो बयान रेकर्ड गराएकी थिइन् । रियाले यसअघि सुशान्तसँग सम्बन्धित सबै सामाजिक सञ्जाल पोस्टहरू हटाएकी थिइन् ।
४ जुलाई २०२० मा, सुशान्तका बुबाले सीबीआई जाँचको माग गरेका थिए, जसको आधारमा मुख्यमन्त्री नितिश कुमारले सीबीआईले कमाण्ड लिनुअघि केन्द्र सरकारलाई सिफारिस गरे। आरोपहरूको स्क्यानरमा आएकी रिया चक्रवर्तीले पनि १६ जुलाई २०२० मा केन्द्रीय गृहमन्त्री अमित शाहसँग यस विषयमा सीबीआई जाँचको माग गरिन्। ०५ अगस्ट २०२० मा केन्द्र सरकारले पनि सीबीआई अनुसन्धानलाई अनुमोदन गर्यो। सर्वोच्च अदालतले पनि भदौ १९ गते यसलाई अनुमोदन गरेको थियो । त्यसपछि सीबीआईले घटनालाई आफ्नो हातमा लिएको थियो।
ईडी र एनसीबीले पनि सुरु गरेको थियो अनुसन्धान :
हत्याको षड्यन्त्रको अनुसन्धानका बीच एउटा प्रश्न उठ्यो कि सुशान्तको खाताको करोडौं रुपैयाँ कहाँ गयो ? यसको आशंका रिया चक्रवर्तीलाई पनि परेको थियो । यो मुद्दा साउन ३० गते प्रवर्तन निर्देशनालयमा पुग्यो । सुशान्तको हत्याको छानबिन गर्न मुम्बई गएको बिहार प्रहरीको टोलीले यसमा ईडीलाई सहयोग गरेको थियो। यस क्रममा, ईडीले रिया चक्रवर्ती र अन्य धेरैको ड्रग सिन्डिकेटसँग सम्बन्धको बारेमा थाहा पायो।
त्यसपछि ईडीको आदेशमा एनसीबीले अगस्ट २६ मा यस मामिलामा एफआइआर दर्ता गरी अनुसन्धान सुरु गरेको थियो। सीबीआईबाहेक, एनसीबी र ईडीले रिया चक्रवर्ती र उनको परिवार र अन्य धेरै व्यक्तिहरूलाई धेरै पटक सोधपुछ गरे। सुशान्तको परिवारले रियाले १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् । प्रवर्तन निर्देशनालयले सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए) अन्तर्गत मुद्दामा अनुसन्धान सुरु गरेको थियो। रियालाई सुशान्तको आर्थिक कारोबार र लगानीबारे प्रश्न सोधिएको थियो । रियाका प्रबन्धक र सुशान्तको पूर्वहाउस म्यानेजरलाई पनि सोधपुछ गरिएको थियो।
रिया गएकी थिइन् जेल :
धेरै बलिउड सेलिब्रेटीसँग सोधपुछ गरेपछि ०४ सेप्टेम्बर २०२० मा, एनसीबीले रिया र उनका भाइ सौविक र सुशान्तको घरका प्रबन्धक स्यामुएल मिरान्डालाई पक्राउ गर्याे। यसपछि बलिउडमा लागुऔषधको प्रयोगको चर्चा चलेको थियो । जसमा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँगै रकुलप्रीत सिंह पनि थिए । एनसीबीले उनलाई सेप्टेम्बर २३ मा सोधपुछका लागि बोलाएको थियो । यो अनुसन्धान अझै जारी छ।
गत नोभेम्बर ९ मा एनसीबीले लागुऔषध मुद्दामा अभिनेता अर्जुन रामपालको बान्द्रास्थित घरमा छापा मारेको थियो । २८ मे २०२१ मा सुशान्तको फ्ल्याटमेट सिद्धार्थ पिठानीलाई पक्राउ गरिएको थियो। यसपछि रिया चक्रवर्ती अक्टोबर २०२० मा जमानतमा बाहिर आएकी थिइन् । उनका भाइ शौभिक पनि धरौटीमा छुटेका छन् । सेप्टेम्बरमा पक्राउ परेपछि रियाले मुम्बईको भायकुला जेलमा झण्डै एक महिना बिताइन्। सोही क्रममा शौभिक पक्राउ परेको तीन महिनापछि जमानत पाएका थिए ।
रियाविरुद्ध प्रमाण फेला परेन ?
एक महिनाको सोधपुछपछि, ईडी स्रोतहरूले भनेका थिए कि रियाको विरुद्धमा उनीहरुले कुनै मनी लान्ड्रिंग गरेको कुनै प्रमाण फेला पारेनन् । उनले सुशान्तको पैसा दुरुपयोग गरेको कुनै प्रमाण नभेटिएपछि उनलाई रिहा गरिएको थियो । ईडी अधिकारीहरूले भने कि सुशान्तको बैंक खाता र रिया र उनको परिवारका सदस्यहरू बीच कुनै लेनदेन भएको छैन। यद्यपि, ईडीले आधिकारिक रूपमा यी रिपोर्टहरूको पुष्टि गरेको छैन। सुशान्त सिंह राजपुतको मृत्युको ड्रग्ससँग कुनै सम्बन्ध छैन, अहिलेसम्म कुनै पनि अनुसन्धान एजेन्सीले कुनै लिङ्क प्रमाणित गरेको छैन। रियाले सुशान्तलाई ड्रग्स दिएर वशमा पारेको कुरा मिडियामा पक्कै चलिरहेको छ ।
लहरो तान्दा पहरो : आत्महत्या प्रकरणको मुद्दा बन्नपुग्यो ड्रग्स केस
अभिनेताको आत्महत्याको मुद्दा ड्रग्स कोणमा परणित भयो । एनसीबी (नारकोटिक्स कन्ट्रोल ब्युरो)ले यस मुद्दामा मार्च २०२१ मा विशेष एनडीपीएस अदालतमा १२ हजार पृष्ठको आरोपपत्र दायर गरेको थियो। रिपोर्टका अनुसार यस आरोपपत्रमा अभिनेत्री रिया चक्रवर्तीसहित ३३ जनालाई आरोपी बनाइएको थियो ।
साथै २ सय जनालाई साक्षी बनाइएको छ । सेप्टेम्बरमा भएको पहिलो गिरफ्तारीको आधारमा एनसीबीसँग आरोपपत्र दायर गर्न ६ महिनाको समय थियो। यसको छ महिनाको अनुसन्धानमा, एजेन्सीले महाराष्ट्रका धेरै स्थानहरूमा छापा मार्याे र सहर र बलिउडभित्र चलिरहेको ड्रग रैकेटको पर्दाफास गर्यो। यससँगै धेरै सिने स्टारलाई प्रश्न गरिएको थियो । यी सबै बयान र अन्य निष्कर्ष एजेन्सीले आरोपपत्रमार्फत अदालतमा पेस गरेको थियो,
गत महिना रियाले विदेश जाने अनुमति पाएकी थिइन् :
यो महिना मुम्बईको एक अदालतले रियालाई आइफा अवार्ड शोको लागि अबुदाबी जान अनुमति दिएको थियो। तर, उनीविरुद्ध लुकआउट नोटिस आएपछि उनी त्यहाँ जान सकेनन् । अदालतमा दिएको निवेदनमा रियाले फौजदारी अभियोग र मिडिया ट्रायलका कारण आफ्नो करियरमा धक्का लागेको र आर्थिक नोक्सान भएको बताएकी थिइन् ।
सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो)ले सुशान्तको मृत्यु आत्महत्या वा हत्या हो भनेर पनि अनुसन्धान गर्यो । सीबीआईले रियाको भूमिकाको पनि अनुसन्धान गरेको थियो र सुशान्तले उनको खातामा १५ करोड रुपैयाँ ट्रान्सफर गरेका सुशान्तको परिवारले दाबी गरेको छ । एजेन्सीले डिसेम्बर २०२१ मा आफ्नो अनुसन्धान पूरा गर्यो, तर छ महिना बितिसक्दा पनि नतिजा प्रस्तुत गर्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया