प्रधानमन्त्रीले त्रिचन्द्रलाई बिर्सिएको भन्दै पुनर्निर्माणको मागसहित विद्यार्थीहरु आन्दोलित (तस्बिरसहित)

लोकपथ
35
Shares

काठमाडौं । त्रिचन्द्र बहुमुखी कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार कलेजअगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् ।

कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ ।

उनीहरुले राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए । उनीहरुले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको बताए ।

प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोइरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म सुरु नहुँदा कक्षाकोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताए ।

उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गत वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा पाए पनि अहिलेसम्म कुनै पहलकदमी नभएको बताए ।

त्यस्तै क्याम्पसका अर्का विद्यार्थी शेरेन जोशीले घरबाट कलेज आएपछि पढ्न बस्दा कहिले पुरिने हो भन्ने डरमा अध्ययन गर्नुपरेको बताए । त्यस्तै विद्यार्थी सुरेन्द्र विश्वकर्मा र विष्णु पाण्डेले कलेजका भवनहरु निर्माण नहुँदा विद्यार्थी सडकमा आउनुपरेको बताए ।

त्यस्तै क्याम्पसका पिउन जीवन लामाले आर्थिक अवस्था सम्पन्न नभएका विद्यार्थीपनि अध्ययन गर्ने शैक्षिक संस्था नबन्नु दुःखको कुरा भएको बताए । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि सोही विद्यालयमा अध्ययन गरेको तर अहिले चासो नदिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्रिचन्द्र क्याम्पसकै उत्पादन भएको भन्दै प्रधानमन्त्रीले विद्यालय बनाउन चासो नदिन दुःखको कुरा भएको बताए । उनले सरोकारवाला निकायहरु मिलेर विद्यालय पुनर्निर्माण गर्न तत्काल पहलकदमी लिनुपर्ने आवश्यकता रहेको बताए ।

पाले लामाले आफूले क्याम्पसमा काम गरेको २० वर्ष भइसकेको भन्दै आजसम्म कुनै सरकारी निकायले अनुगमन नगरेको बताए । उनले विद्यार्थी उठेर र शिक्षकले माइकबाट अध्यापन गराउनुपर्ने बाध्यता रहेकोले पदासीन सरकारी कर्मचारी र सरकार पक्षले विद्यालय बनाउन लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?