जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने

लोकपथ
763
Shares

काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको छ । सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेकाे छ । सोहि अनुसार कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेसँगै ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट धितो बन्धक पारित हुने खेतीयोग्य जमिन र गैर कृषि क्षेत्रको वर्गीकरण गरेपछि मात्र लिखित पारित गर्नुपर्नेछ ।

तोकिएको मापदण्ड अनुसार वर्गीकरण नभएसम्म बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो/बन्धक पारित गर्न पाइनेछैन । यो निर्णय भएसँगै जग्गा धितो राखेर बैंकबाट कर्जा नपाइने भएको हो।

मन्त्रालयले वर्गीकरण निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू उपयोग परिषद्ले भू उपयोग ऐन, र भू उपयोग नियामवाली, २०७९ ले तोकेको मापदण्ड आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने जनाएको छ । मन्त्रालयले सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?