काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ ।
नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तरुप गिरावट हँुदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ ।
यता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४८ अंकले घटेर ३८३ दशमलव ५१ बिन्दुमा ओर्लिएको छ ।
सेयर बजारसँगै लगानीकर्ताको मनोबल पनि घटिरहेको छ । बजारमा निरन्तर गिरावट आएसँग उनीहरु प्यानिक सेल गर्न थालेका छन् । सोमबार एक अर्ब पनि नपुगेको कारोबार आज बढेर एक अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
आज दिनभर २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।
यसदिन १३ वटै सूचक नकारात्मक बनेको छ । जसमा अन्य सूमूहको सबैभन्दा धेरै ३.४४ प्रतिशत र व्यापार समूहको ३.१२ प्रतिशतले घटेको छ । त्यसैगरी, निर्जीवन बीमा समूहको २.८९ प्रतिशत, हाइड्रोपावर सूमहको २.७६ प्रतिशत, विकास बैंक समूहको २,१८ प्रतिशतले घटेको छ ।
नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै,माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ । तर यता हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया