काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
अब नयाँ डिम्याट खाता खोल्नपरेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई वा सोझै अनलाईन डिम्याट डट सिद्धार्थ क्यापिटल डट कममा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत् आवेदन दिन सक्नेछन । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोसेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।
ग्राहकहरुले पेश गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाइ फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरूसहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएसमार्फत जानकारी गराइने छ ।
ग्राहकहरुले परिचय खुल्ने कागजातहरूसहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहकहरुले मेरो सेयर र सीआरएनको लागि आवेदन दिएको छ भने मेरो सेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहकहरुलाई आवश्यक विवरणहरु इमेलमार्फत प्रदान गरिने छ ।
बैंकले ल्याएको अनलाइन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यस व्यवस्थाले बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बन्ने छ । यसबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया