मुख्य प्रशिक्षक कोजीलाई यसकारण लगाइयो, नेपाल प्रवेशमा रोक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जापानी ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । 

अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृति बिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लगाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियाली खेलकुदको लागि अहिले इण्डोनेसियामा छन् । 

विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दैं आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको हो।

‘एशियाड’मा भने नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दैं आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको हो।

अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १ सय ५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृत नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए । 

‘खेलकूद मन्त्रालयको पत्र, गृहमन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ उनले श्रम स्विकृतिका लागि प्रक्रिया गर्नुपर्ने थियो तर त्यसो गरिएन्, नियमानुसार एक वर्षमा १ सय ५० दिन पर्यटन प्रवेशाज्ञामा उनी नेपाल बसिसकेको छ । २०१८ भर कोजी नेपाल आउन मिल्दैन,’ निर्देशक गौतमले भने । 

विभागका अनुसार पर्यटन प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १ सय ५० दिनमात्र यहाँ बस्न पाउँछ । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानूनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य शुरु गरेको बताए ।

‘कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरिरहेका छौँ, एक दुई दिनमा यसको किनारा लगाउछौँ” प्रवक्ता राईले भने । 

‘प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पियनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ, यसबारे छिट्टै टुङ्गोमा पुग्छौँ,’ उनले बताए । 

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ ।

नेपालले यसै महिना बङ्गलादेशमा हुने ‘साफ’ च्याम्पियनसिप खेल्दैंछ । ‘एन्फा’ले बङ्गलादेशमा हुने ‘साफ’ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 

कोजीलाई अहिले सहायक प्रशिक्षक बालगोपाल महर्जनले सहयोग गर्दै आइरहेका छन् । साफ च्याम्पियनसीको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै ‘साफ’को शुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?