काबुलमा राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट बम प्रहार

एजेन्सी ।  अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । 

प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो । 

उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । 

राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो । 

रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । 

काबुल प्रहरीका प्रवक्ता हस्मत स्टानिक्जाईले मङ्गलबार बिहान पनि एउटा शंकास्पद सवारी साधन देखिएको बताएका थिए । उक्त सवारी साधन इद गाह मस्जिद नजिकको माटोले निर्माण गरिएको घरतर्फ गएको थियो । 

बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको छ, प्रहरीले जनाएको छ । 

बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?