अस्ट्रेलिया। विश्वकै सर्वाधिक तिब्र गतिका धाबक तथा आठ पटकका ओलम्पिक च्याम्पियन जमैकाको युसैन बोल्टले म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सम्भाबना बढेको छ ।
यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्लबमा आबद्ध हुँदै पहिलो पटक ट्रेनिङमा सहभागी भएका छन् ।
हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लिगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको छ ।
उनको बल नियन्त्रण कला राम्रै देखियो, र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो ।
‘यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्ड जस्तै हो, पहिलो दिनको तालिम जो सुकैलाई कडा नै हुने गर्दछ । कति मिहेनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहाँ हुन्छ ।’उनले भने
मंगलवार मात्र ३२ औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो । बोल्टले यसअघि गत वर्ष नै जर्मनी, नर्बे र दक्षिण अफ्रिकी टीममा रहेर फूटबल खेल्ने अभिरुची देखाएका थिए र सम्भव भएको थिएन ।
अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८–१९ को सिजनमा ए–लिगको एक खेलाडीका रुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् ।
सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो ।
आठ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तिब्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताए । ‘म माथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन, र मेरो ध्यान केबल फूटबलमा छ ।’ उनले भने ।
बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुई वटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले ६ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि जिते । त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फूटबल खेल्ने इच्छा देखाए ।
उनको फूटबलप्रतिको मोह स्कुल पढ्दा देखिकै हो, र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् । बिजुली चम्केझैं दौडिन सक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहाँ छैन ।
’मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ,’ प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले बताए । प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने, ‘यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी खुशी छौं ।’
सबैको चाहना राम्रो फूटबल खेलाडी हुने, र ओल्ड ट्राफोर्ड ‘म्यान्चेस्टर युनाइटेड’ मा खेल्ने हुन्छ । ‘मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छ । मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट खेल्नु हो, चाहे त्यो पाँच होस् वा एक खेल किनभने म म्यान्यूको ठूलो समर्थक हुँ ।’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया