ऋषिङ गाउँपालिकाको निर्णय : एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाख सहयोग गर्ने

लोकपथ
42
Shares

पोखरा । तनहुँको ऋषिङ गाउँपालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रवृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट वन्चित नहुन् भन्ने नै उद्देश्य हो,’ उनले भने, ‘अझै आवश्यक्ता पर्यो भने रकम थप्न सक्छौं । अहिलेलाई ५ लाख भनेर निर्णय गरेका छौं ।’

यस्तो सेवा लिनका लागि ऋषिङ गाउँपालिकाभित्रकै सरकारी स्कुलमा पढेर एसइई दिएको हुनुपर्नेर्छ । ‘यही पालिकाको स्कुलमा पढेको विद्यार्थी हुनुपर्छ । बाबुआमाले बसाईंसराईं पनि नलगेको हुनुपर्छ,’ उनले अघि भने, ‘उच्च शिक्षा भने बाहिर गएर पढेको भएपनि हुन्छ ।

त्यस्ता विद्यार्थीलाई पालिकाले सहयोग गर्छ ।’ उक्त विद्यार्थीले एमबीबीएस पास गरेपछि कम्तिमा ३ महिना पालिकाभित्रै सेवा दिनुपर्ने शर्त छ । हरेक वर्ष ३ देखि ५ जना विद्यार्थीले एमबीबीएस पढ्न सक्ने पालिकाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?