निर्मला हत्या प्रकरण : स्थानीयले गरे प्रहरी कार्यालय घेराउ

कञ्चनपुर । किशोरी निर्मला पन्तको अपहरणपछि हत्याका दोषी पत्ता लगाउन भन्दै स्थानीयले आज दिनभर महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । प्रहरीले निर्मला पन्तको वास्तविक अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै सर्वसाधाराणले बिहानैदेखि प्रदर्शन गरे ।

सर्वसाधारणले जिल्ला प्रशासन र प्रहरी कार्यालय बाहिर निर्मलाको वास्तविक हत्यारालाई बचाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पक्राउ गरेको भन्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासबाट महिला तथा बालबालिका समेत प्रभावित भएका थिए । 

स्थानीय बासिन्दाले मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरेर वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै प्रदर्शन गरिरहेका छन् ।

गत साउन १० गते साथीको घरमा पढ्न गएकी १३ वर्षीय निर्मला पन्त अर्को दिन मृत भेटिएकी थिइन् । स्थानीयले दिदीबहिनी बबिता बम र रोशनी बमलाई हत्यामा संग्लग्न भएको आरोप लगाएका छन् ।

महेन्द्रनगर दिनभर तनावग्रस्त हुँदा स्थानीय र प्रहरीको झडपमा दुवैतर्फ घाइते समेत भएका छन् ।

स्थानीयले किशोरी पढ्न गएको घरका युवतीहरुलाई कानूनी दायरामा ल्याउन भन्दै प्रदर्शन गरे पनि प्रहरीले भने प्रमाणका आधारमा विष्ट नै दोषी देखिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?