बाँके : नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती बल्दैनन् । बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा कसैले चासो देखाएका छैनन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पुष्पलाल चोकसम्म ७० र तत्कालीन संसद् विकास कोष र जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्म १५० पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा बिग्रिएका छन् ।
काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सुरुवाती ७० सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० कसले जडान गरेको भन्ने बारेमा नेपालगन्ज उपमहानगरपालिकासँग जानकारी छैन ।
उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भने, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या छ ।” बत्तीको पाठपूर्जामध्ये कुनै दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको तर सम्झौता मन्त्रालयबाटै भएको हुँदा प्राविधिक कुराहरुबारे हामीलाई जानकारी नभएको उनले बताए ।
गणेशमान चोकदेखि ट्राफिक चोकसम्म २८ सोलार बत्तीमध्ये दुई र गणेशमान चोकदेखि बिपी चोकसम्मको २६ मध्ये सात सोलार बत्ती बिग्रिएको छ । सबैभन्दा बढी बिपी चोकदेखि धम्बोझी चोकसम्म ३७ मध्ये २४ सोलार बत्ती बिग्रिएका छन् तर १०÷१५ मात्र सोला बत्ती बिग्रिएको आफूलाई जानकारी भएको इञ्जिनीयर गुप्ताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया