जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत महिला एकलको ब्याडमिन्टनमा नेपालकी नङशलदेबि तामाङ प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
जेबिके हलमा बिहीवार सम्पन्न भएको खेलमा नेपालकी तामाङले माल्दिभ्सकी फतिमाथ अक्दुल रज्जाकलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् ।
खेलको पहिलो सेट २१-१९ ले जितेकी नङशललाई माल्दिभ्सकी खेलाडीले निकै कडा टक्कर दिएकी थिइन् । पहिलो सेटको खेल १६ मिनेट चलेको थियो ।
त्यस्तै, दोस्रो सेट २१-१५ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भइन् । दोस्रो सेटमा जीत दर्ता गराउन तामाङले १७ मिनेट समय खर्चेकेी थिइन् ।
यता, बिहीवार नै भएको अर्को खेलमा नेपालकी जेसिका गुरुङ थाइल्याण्डका रातचानोकसँग २१-७, २१-४ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएकी छिन् ।
अब क्वाटरफाइनल प्रवेशका लागि शुक्रवार तामाङले जापानकी एकानी यामागुचीको सामना गर्नेछिन् ।
त्यस्तै, बिहीवार नै भएको मिक्स डबल्सतर्फको खेलमा नङसल देबि र रत्नजित तामाङको जोडी इन्डोनेशियाका डेब्बी सुसान्त र रिक्की करणको जोडीसँग २१-१३ र २१-७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
सोही स्पर्धाको अर्को खेलमा दिपेश धामी र जेशिका गुरुङको जोडी हङकङकी चुन लि र चौ होइ वाको जोडीसँग २१-११ र २१-११ को सेटमा पराजित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया