काठमाडौं । आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (५ असार) अन्तिम दिन रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री आइतबार कार्यालय समयपछि बन्द हुनेछ ।
नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्कासन खुला हुन लागेको हो ।
यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार बिदा रहेकाले २३ जेठमा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्काशन तथा बिक्री बन्द हुने मिति छिटोमा ६ असार उल्लेख थियो । बिदा कटौतीसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्काशन बन्द हुन लागेको हो ।
१ असारदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकाले ५ असार बैंकिङ समयपछि सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ । कटौती गरेकाले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया