बिम्सटेक सम्मेलनको बेलिविस्तार: सडक रंग्याउनेदेखि बुलेटप्रुफ कारसम्म

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्र-सरकार प्रमुखहरुको चौंथो शिखर सम्मेलन आर्को साता नेपालमा हुँदैछ । बिमस्टेक सम्मेलन यही भदौ १४ र १५ गतेका लागि तय भएको हो । 

को को आउँदैछन् ? 

सात सदस्य रहेको बिमस्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा राज्य परिषद्की प्रमुख आङसाङ सूकी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदैछन् । त्यस्तै सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुसमेत सम्मेलनमा सहभागी हुने भएका छन् । 

सम्मेलनको तयारी : कसको भागमा के ? 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शिखर सम्मेलनको तयारी भइरहेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावटको काम भइरहेको छ । 

प्रधानमन्त्रीकै निर्देशनमा अहिले धमाधम राजधानीलाई सिँगार्ने काम भइरहेको छ । त्यसैले ‘पिक आवर’ सवारीको अत्याधिक चाप हुने समयलाई समेत ख्याल नगरी सडकमा काम भइरहेको छ । रंगरोगन गर्ने, सडकमा असरल्ल गुजुल्टो परेका तारलाई बाँधेर व्यवस्थित बनाउने र सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।  

यी विषयमा हुँदैछ छलफल 

सन् १९९७ मा बिम्सटेक स्थापना भएको हो । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बेङगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन’ (बिमस्टेक) हो ।

यसको स्थापनाको ७ वर्षपछि मात्रै नेपाल यसको सदस्य बनेको हो । सन् २००४ देखि नेपालले पनि यसको बैठकमा सहभागिता जनाउँदै आएको छ । 

सन् २०१४ मा यसको सचिवालय बंगलादेशको ढाकामा स्थापना गरिएको हो । म्यानमारको नेपिट्मा सन् २०१४ को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको थियो । 

बिम्सटेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटप्रुफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतको भैपरी आउने साधारण प्रशासन तर्फको बजेटलाई रकमान्तर गरी गृहमन्त्रालयलाई उपलब्ध गराएको हो ।

सम्मेलनमा सहभागी हुन आउने सरकार प्रमुख र राष्ट्रप्रमुखसहितका भीभीआईपीको सुरक्षाका लागि बुलेटप्रुफ सहितका सवारी साधनको व्यवस्था गरिएको छ ।

यस्तो छ कार्यतालिका 

भदौ १४ गते बिमस्टेक राष्ट्रका नेतासँग राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने कार्य तालिका सार्वजनिक भएको छ । सोही दिन भण्डारीले दिवा भोजको आयोजना गर्ने छिन् ।

पारस्परिक सहायताका क्षेत्रमा बिम्सटेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । सम्मेलनको दिन साँझ प्रधानमन्त्रीले विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्ने भएका छन् ।

विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भदौ १५ गते बिमस्टेकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ र उक्त उच्च नेतृत्वले काठमाडौं घोषणापत्र अनुमोदन गर्ने जनाएको छ । चौंथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरुको नवौं बैठक, तथा १३ गते बिम्सटेकका परराष्ट्रमन्त्रीहरुको १६ औं बैठक काठमाडौंमा हुने भएको मन्त्रालयले जानकारी दिएको छ । 

बिम्सटेक सम्मेलनको लागि नयाँ प्रतीक चिह्न पनि तयार गरिएको छ । नयाँ प्रतीक चिह्नमा सगरमाथा र समुद्रको बीचमा बनाइएको हरियो र पहेंलो रंगका अर्ध गोलो चिह्न रहेको छ । सो गोलाभित्र बिम्सटेकका सदस्य राष्ट्रहरूको झण्डा राखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?