प्रदीपलाई सोधियो, ‘तपाईंका हरेक फिल्म विदेशमै छायांकन किन हुन्छन्?’

काठमाडौं । अभिनेता प्रदीप खड्काका खासै धेरै फिल्म छैनन् । तर, पछिल्लो समय प्रदर्शनमा आएका उनका चलचित्र प्रायः विदेशमा छायांकन गरिएको देखिन्छ । ‘प्रेमगीत २’ मा विदेशका विभिन्न दृश्य देखाइएका थिए । यस्तै उनको पछिल्लो फिल्म ‘लिलीबिली’ का धेरै भाग विदेशमै छायांकन भएका थिए ।

अहिले उनले अभिनय गरेको र भदौ २२ मा रिलिज हुन लागेको चलचित्र ‘रोज’ को छायांकन पनि विदेशमा गरिएको छ । काठमाडौंमा बिहीवार फिल्म ‘रोज’ को ट्रेलर सार्वजनिक कार्यक्रम थियो । उक्त कार्यक्रममा प्रदीप खड्का पनि उपस्थित थिए ।

उनलाई सोधियो, ‘तपाईंका हरेक फिल्म विदेशमै छायांकन किन हुन्छन्? के तपाईंले फिल्म युनिटलाई विदेश जान भन्नुहुन्छ हो?’

उनी खिस्स हाँस्दै जवाफ दिन थाले । ‘होइन, नयाँ ठाउँ हेर्दा दर्शकलाई आनन्द लाग्नसक्छ भनेर विदेशका दृश्य पनि समावेश गरेको हो तर विदेशमा शूटिङ हुनैपर्छ चाहिँ मैले भन्दिन’, उनले भने, ‘यो फिल्म (रोज) को भने पैसा धेरै भएर विदेशमा छायांकन गर्न गएको हो ।’

उनले हाँस्दै भने ।

जे जसो भए पनि नेपाली सिनेमाले विदेशी भूमिलाई नेपालमा चिनाउने प्रयास गरेका छन् । विदेशको दृश्यले नेपाली सिनेमाका दर्शक बढाउन सहयोग गर्छ कि गर्दैन, त्यो चाहिँ चर्चाको विषय बन्दै गर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?