काठमाडौं । मलेसियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियाको किनरारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको यात्रा तय भएको हो ।
१५ रनको सामान्य लक्ष्य पश्चात जवाफी ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन् । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।
बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन् ।
त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिइन् । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हंङकङसँग मंगलबार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया